टाउकोमा नाच्दै छ कोही, कसरी भन्नु मेरो केस दुख्दैन
दुख्छ बिहान बेलुका तर मध्यरात्रिमा मेरो देश दुख्दैन
दुख्दै आएको छ सदियौँदेखि कालापानी र लिपुलेक
धमिलो पानीमा, माछा मार्ने छन् कसरी भन्नु शेष दुख्दैन ।

हाँसो पनि फारो गरौँ, दुई दिनको हाँसो नहोस्
आफ्नो लाग्ने सबै कुरा, अर्काको नासो नहोस्
मान्छेको जीवनमा के यस्तो पनि सम्भव छ र ?
प्रेम गरेको मान्छे होस्, फेरि कैले चासो नहोस् ।

घाम, पानी, आँधिबेहरी सब सहन्छ
जिन्दगी कहाँ एकनास लयमा बहन्छ ?
तिम्रो हृदयमा फुलेको पारिजात हुँ म
झरेर गए पनि सुगन्ध त बाँकी रहन्छ !

चलाखहरूको बस्तीमा सोझो लाटोको के काम ?
अन्त्यै बिक्री भैसकेको त्यो, माटोको के काम ?
जसले उड्न सिकेको होस् निर्वाध आकाशमा,
काँडैकाँडा भरिएको, त्यो बाटोको के काम ?

पढिदिए मात्र पुग्छ, वाह ! वाह ! र ताली चाहिन्न
मनभित्र दियो बल्यो भने पूजाको थाली चाहिँन्न
जब शान्तिको झलक अनुहारमा देखिन थाल्छ
कसैले उपहारमा दिएको, कृत्रिम लाली चाहिन्न ।

घाम, पानी, आँधिबेहरी सब सहन्छ
जिन्दगी कहाँ एकनास लयमा बहन्छ ?
तिम्रो हृदयमा फुलेको पारिजात हुँ म
झरेर गए पनि सुगन्ध त बाँकी रहन्छ !