मुक्तक–१

कहिलेकाहीँ दिमाग यसरी खल्बलिएन भने ।
कस्तो हुँदो हो यो रात दिनमा बदलिएन भने ।
यी दुई नजरका निशाना कहाँ हुन्थ्यो होला ?
कहिले आँखामा कहिले ओठमा अल्मलिएन भने ।

मुक्तक–२

पानीसँग नजिस्किनु, आगोसँग नजिस्किनु ।
संवेदनशील हुन्छ प्रेमको धागोसँग नजिस्किनु ।
सानै भए पनि भाग्न नपाएसी हमला गर्छ,
ढोका थुनेर कम्सेकम, बिरालोसँग नजिस्किनु ।

मुक्तक–३

पन्छाएर सारा अवरोध, तिमीसम्म आएको छु ।
बनेर बालकझैँ अबोध, तिमीसम्म आएको छु ।
थाहा छ रित्तै आएँ र जरुर रित्तै फर्किनु पर्छ,
नराखी केही प्रतिशोध, तिमीसम्म आएको छु

मुक्तक–४

लामो लगाउन भन्छु, छोटै लाउँछे यार ।
नेपाली बोल न भन्छु, अंग्रेजी गाउँछे यार ।
म जागीर खान्छु एकसय झिक्न सक्दिनँ,
ऊ हजारको निकाल्छे, कहाँ पाउँछे यार ?


शंखरापुर न.पा.–१, काठमाडौँ