१.
विपत्तिमा लुटको नाम लिनु हुन्न भन्दा करायो भन्न पाउनु हुन्न
सकेको बाँडौँ आफूले राख्नु हुन्न भन्दा डरायो भन्न पाउनु हुन्न ।
सहयोग ठान्नुस् कि असहयोग मान्नुस्, मेरो नाम नआओस् है
दुनियाँसामु हिसाब लुकाउनु हुन्न भन्दा हरायो भन्न पाउनु हुन्न ।।०१।।
२.
लटरम्म रुखभरि पैसा फल्यो भने राम्रो भयो भन्छु
चाहेको स्वार्थको घैँटो भरियो भने हाम्रो बन्यो भन्छु ।
जता फर्के पनि छलेर गोजी तताउन भेटिनँ भने चाहिँ
प्रकृतियात्रा कस्तो भो भनियो भने चाम्रो रह्यो भन्छु ।।०२।।
३.
भन्नुस् है कोभिड मास्न राहत बाँडौँ अब हजुर
दुनियाँको दुःख सोचेर चाहत बाँडौँ अब हजुर ।
सुनको सिक्री लगाएर राहत लिएको भेट्टाउँदा
नभन्नुस् है दाइ यस्तो, आहत बाँडौँ अब हजुर ।।०३।।
४.
काम नगरी नाम चाहियो भन्नेहरू पाइन थाले
गाउँबाट सहर, सहरबाट मरुभूमि देखिन थाले ।
कर्णहरूको साम्राज्य खोज्दा खोज्दा थाकिसकेँ म
जताततै रामराज हैन रावणराजमात्रै भेटिन थाले ।।०४।।
५.
सेतो कपडामा दाग लागे मेट्न गारो हुन्छ
मूर्ख मित्रभन्दा विद्वान् शत्रु भेट्न सारो हुन्छ ।
प्रेम सबलाई विश्वास केहीलाई गरी हिँडेमा
धन नभए के भो, विद्या नै ठूलो चारो हुन्छ ।
बेलका नगरपालिका–३, रातापानी, उदयपुर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।