प्रकाश घायल

गरिबको झुपडीमा न त घाम न त जून आउँछ
भोकले पेट बटारिन्छ आँखामा मनसुन आउँछ
सरकार सत्ता समीकरणमा धेरै ब्यस्त भएपछि
अप्ठ्यारो परेको बेला न चामल, न नुन आउँछ।।
(१)
फूल कोमल भएकै जाती हुन्छ त्यसमा धार आउनुहुन्न
एउटै कुरा दोहोरिएर झन् तेहरिएर लगातार आउनुहुन्न
रोग र भोकसँग त जनता लडिरहेकै छ्न् लडिरन्छ्न्
आइन्दा ! ए सरकार उखान टुक्के समाचार आउनुहुन्न।
(२)
शब्द शब्दमा विवाद ल्याउने गाली भएर आउनुस्
दुर्घन्धित…….बग्ने टुकुचाको नाली भएर आउनुस्
सत्ता शक्तिमा हुँदा हो हजुर भरपूर लाभ लिने, दिने
भ्रष्टाचारको सम्पत्ति थाप्नलाई थाली भएर आउनुस्।।
(३)
लोभलाग्दो वन पाखा..त….कतै तारेभीर देखेँ
नयनभित्र बैंशका उन्माद सागरजस्तै नीर देखेँ
टोलाएर नबस्नु है……….कहीँकतै दोबाटोमा
विधाता नै दङ्गदास होला, तिम्रो सुन्दर शरीर देखेँ।।
(४)
आँखा-आँखा जुधाएर हाँस्न गाह्रो भो
गुमाएको विश्वास फेरि गाँस्न गाह्रो भो
जान्दाजान्दै घायल मुटु टुक्य्राएर गयौ
छाती भित्र टुक्राहरू टाँस्न गाह्रो भो।
(५)
एउटा झूट लुकाउन सयौँ झुठ बोल्छन् त मेरो के लाग्छ
असत्यको राँकोले सत्यलाई नै पोल्छन् त मेरो के लाग्छ
परोपकारी बन्नुपर्छ उदारता देखाउनुपर्छ भन्दाभन्दै पनि
बाहिर अमृत देखाएर भित्र विष घोल्छन् त मेरो के लाग्छ ?
(६)
अध्याँरो नै काफी थियो उसलाई घाम किन उदाउँछ ?
जसको ललाटमा सुख छैन डोको नाम्लोमै रमाउँछ
कम्मरमा पटुकी कसेर भोकतिर्खा बिर्सन्छ सबै
पीरको ओछ्यान आँसुको सिरानीमा दु:ख बिसाउँछ।
(७)
ओठ तालु सुकाउने गरी छलछाम गर्दैछन् स्वनामहरू
विभिन्न कारणले हारेको युद्ध पुनः लड्दैछन् रामहरू
सज्जनलाई सुली चढाई चोरको लागि चौतारो बनाउँछन्
अपराधी बचाऊ निर्दोष फँसाऊ हुन्छ सरकारी कामहरू।
(८)
पोहोर उडाएको छानोले अझैसम्म खर पाएन
गरिब निमुखाले नसकेरै छाउनुपर्ने घर छाएन
मल्हमपट्टी लगाउन विपत्तिको आलो घाउमा
परिणाममुखी बजेट आउनुपर्थ्यो तर आएन।
(९)
यो जिन्दगीमा~कति दुश्मन कति यार भेटियो
खुसी उमङ्ग थियो टुक्य्राइदिने हतियार भेटियो
तिमी बिनाको यो जिन्दगी पनि खै के जिन्दगी
जीवनमा हर्ष विस्मातको ओखती प्यार भेटियो।
(१०)

जयन्तीपुर फुटुङ, काठमाडौँ