गोम विक्रम

१.
गर्दै नगर्नेको भजन र नारा सिद्धान्त घोक्नुपरेको छ
अपराधी वा वापती हुन् पहुँच छ र बोक्नुपरेको छ
थुकेको थुक चाटिएन, आफूले कहिले ढाँटिएन
अगाडि, माथि चम्चे पुग्दा, आफूले सलाम ठोक्नुपरेको छ ।
२.
आदर्श, नीति, अनुशासन, सिकाउँथ्यौ उस्तै अर्जीका कुरा
धनमा गाँठो परेपछि त, थालेछौ आफ्नै मर्जीका कुरा
मास्तिर ढाके तल्तिर  ह्वाङ्गै, तलतिर ढाके माथि छ्याङ्गै
ढाकेर कत्ति ढाकिँदैन, सायद तिम्रा फर्जीका कुरा ।
३.
विकृति विसङ्गति नानाथरि, बेथितिले सीमा नाघेको देख्छु
धम्मरधुस्तले बडा  मान्छे त, सत्ताकै पछि लागेको देख्छु
मुलुकलाई  पछाडि   ठेल्दै, छक्कापञ्जाको  खेल खेल्दै
स्वार्थकै निम्ति राजनीतिमा, विवेक बन्धकी राखेको देख्छु ।
४.
सुन्नेले आवाज सुनेका छैनन्, जस्तै चीत्कार गरुन् जनता
आफ्नै दुनो  नै सोझ्याउँछन्, बरु  भर्सेला  परून् जनता
आफूले खाए बाँचिन्छ भन्छन्, आफूले लाए ढाकिन्छ भन्छन्
समस्या, अभाव  र पीडाहरूले, दिन दहाडै  मरून् जनता ।
५.
दैवी-प्रकोप  महामारी, अनिकालको मारामार छ सर्कार
सङ्कट पर्दा नै जनतामा, हात झिक्ने ‘दिलदार’ छ सर्कार
कोरोना कहर बढ्दै जाँदा, कुर्सीको निम्ति लड्दै जाँदा
अक्सिजन छैन अस्पतालमा, डाक्टरै ल्याऊ भन्न लाचार छ सर्कार ।
कल्लाबारी, पाल्पा ।