(१)

युवराज भण्डारी

यो सहरमा मान्छेको यतिका भीडभाड किन छ?
सज्जन कहलाइएकालाई दुर्जनको आड किन छ?
साँढेको जुधाइ बाच्छाको मिचाइ यस्तै छ नियति
राष्ट्रको गम्भीर सवालमा यहाँ खेलबाड किन छ?

(२)
तिम्रो हरेक शब्द अनि मीठो सवाल मनपर्छ
गाजलु नयन तिम्रो नागबेली चाल मनपर्छ
तिमी अनलाइन हुने क्षण बेचैन पर्खिरहन्छु
तिमी छौ र यो सामाजिक सञ्जाल मनपर्छ।

(३)
स्वप्न रुपी पातहरुको, बोट बोकेर हिँड्छन् मान्छे
पातै पिच्छे अनेकन्, चोट बोकेर हिँड्छन् मान्छे
कुहिरोको कागसरि रुमलिन सक्छन् लक्ष्यहरू
जब ईर्ष्यामा कुनै, अठोट बोकेर हिँड्छन् मान्छे।

 

डुम्रिबेसी, तनहुँ
हाल: मन्ट्रियल, क्यानडा