१.
मनभित्र कुविचारको रास जगाएपछि
केही गरौँ भन्नेको नै अठोट डगाएपछि
केही होला भनी तिम्रो आश कसरी गर्नु ?
खोजेर नै बाँदरलाई लिस्नो लगाएपछि।
२.
भित्री मनभन्दा पनि बाहिरी चित्र खोज्ने छन्
रुपैयाँको खात भएका नाता, मित्र खोज्ने छन्
वरपर भोका नाङ्गा छट्पटाऊन् मतलब छैन
बरु लड्डु चढाई धर्म मन्दिरभित्र खोज्ने छन्।
३.
पशु, पक्षी सबको महत्त्व बुझ्ने संस्कार हाम्रो
घरमा डाकी दाजुभाइलाई पुज्ने संस्कार हाम्रो
मन, आँगन सबै उज्यालो कति सुन्दर छ तिहार,
देउसीभैलो खेल्दै प्रकृतिमा रुज्ने संस्कार हाम्रो।
४.
बन्दैछु आजकल असल नबोलाउनु नि
र रिस उठेर पर्ला टसल नबोलाउनु नि
छरछिमेक, घरपरिवार सबैले र्याक गर्छन्
आउनु भन्दै रक्सी पसल नबोलाउनु नि !
५.
उनको मायाको खोटको उजुरी गर्नुथियो
मनमा दिएको चोटको उजुरी गर्नुथियो
थाहा छैन हिसाब पर्गेल्ने अदालत छ, छैन
ऊ बेला दिएको हर अठोटको उजुरी गर्नुथियो ।
विराटनगर ५
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।