१.
जब कालो पर्दा च्याती चाँदनी उदाउँछ
महलदेखि झुपडी अनि आँगनी उदाउँछ
राख्नु पर्दैन छतमा अरे मुकेश प्यानल
घरघरमा कुलमानसँगै रजनी उदाउँछ ।
२.
धेरै व्यवसाय चौपट पारिदियो उसले
औँसीलाई पूर्णिमामा झारिदियो उसले
माफियाको जरो खन्यो नेपाली मन जित्यो
देशका लागि भ्रष्टआचार मारिदियो उसले
३.
राम्रा मान्छे सत्तातिर आउनै हुँदैन
नभेटेसी कसैलाई दोष लाउनै हुँदैन
न कसैको ज्वाइँ हो ऊ न कसैको सम्धी
अर्को कार्यकाल त उसले पाउनै हुँदैन
४.
जब देशमा पाप बढ्यो अत्ति बनेर
कुलमान तिमी आयौ कृष्ण जत्ति बनेर
कौरवहरू तहसनहस भए तिम्रै कारण
नेपालीको मनमा बस्यौ बत्ती बनेर ।।
५.
कठै ! मैनबत्ती आज आफैँ जलेछ
खासमा उनीहरुको सत्ता ढलेछ
मैले तिमीलाई सधैँ माया गर्थेँ तर
तिम्रो आँसुमा भ्रष्टको रगत फलेछ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला