(१)
के भनौँ र, पहिला हँसाएर पछि रुवाउनेहरूलाई
अमृत भन्दै झुक्याएर बिष पिलाउनेहरूलाई
मलाई यता पर्ख पर्ख भन्दै पर्खाएर बसाई
उता अर्कैसँग लगनगाँठो जुराउनेहरूलाई

(२)
निर्जीव ढुङ्गा पुज्दैमा भगवान् हुने भए
तोडेर कोमल मन बलवान् हुने भए
साँच्चै म कति तारिफ गर्थेँ होला तिम्रो
झुटो तारिफ गर्दैमा मान्छे महान् हुने भए

(३)
दिनेले त चोट दिन्छन् सजिलैसँग
बिर्सने त बिर्सिदिन्छन् सजिलैसँग
चोट खानेलाई, सम्झिराख्नेलाई पो गाह्रो
दुनियाँले त हेरिदिन्छन् सजिलैसँग

(४)
तिमीभन्दा अर्को रोज्ने चाह छैन मलाई
तिमीले सोचेजस्तो आहा छैन मलाई
मेरो मनमा तिमी नै तिमी मात्र तिमी छौ
तिम्रो मनभित्र पो को छ थाहा छैन मलाई ?

(५)
गागर भित्रको सागर हो मुक्तक
भुल्नै नसक्ने यादगार हो मुक्तक
चार हरफमै पूरा जिन्दगी बोल्ने
मानेँ साँच्चै चमत्कार हो मुक्तक।

बाजुरा