जीवन जन्म मरणको एक चक्र हो भनी कसले बनायो
यो सृष्टि अनि मोहरूपी जाल बन्धन नि कसले बनायो
म अचेल यही कुराहरूलाई नै बारम्बार सोचिरहन्छु
मित्र आखिर यो पैसा भन्ने चीज पनि कसले बनायो ।

* * * *

मित्र नभई शत्रुले पनि दुःख खेपेको सहन सक्दिनँ
अनेकौं कुरा गर्दै बीचैमा पारी चेपेको सहन सक्दिनँ
अरू जे जे गरे पनि सहन सक्छु म मेरो जीवनमा,
तर मान्छेले मेरो परिवारलाई हेपेको सहन सक्दिनँ ।

* * * *

भित्री मन दरो छ बाहिरी शरीर डढेर फरक पर्दैन
दुनियाँले मेरा लागि अनेक भ्रम छरेर फरक पर्दैन
म यो संसार जित्नको लागि निस्केको यात्री हुँ,
यात्रा गर्दै गर्दा दुईचार चोटि लडेर फरक पर्दैन ।

* * * * 

छिमेकीले लाएका वचनलाई पिरमा राखेर
भएको जति सबै विश्वास यो तक्दिरमा राखेर
छोरो कतै बिग्रिन्छ की भनी चिन्ता नगर्नु आमा,
म हिँडेको छु हजुरको आशीर्वाद शिरमा राखेर ।