(१)
जीवन जन्म मरणको एक चक्र हो भनी कस्ले बनायो
यो सृष्टि अनि मोहरूपी जाल बन्धन नि कस्ले बनायो
म अचेल यही कुराहरूलाई नै बारम्बार सोची रहन्छु
मित्र आखिर यो पैसा भन्ने चीज पनि कसले बनायो।
(२)
मित्र नभई शत्रुले पनि दुःख खेपेको सहन सक्दिनँ
अनेकौं कुरा गर्दै बीचैमा पारी चेपेको सहन सक्दिनँ
अरु जे जे गरे पनि सहन सक्छु म मेरो जीवनमा
तर मान्छेले मेरो परिवारलाई हेपेको सहन सक्दिनँ।
(३)
भित्री मन दरो छ बाहिरी शरीर डढेर फरक पर्दैन
दुनियाँले मेरालागि अनेक भ्रम छरेर फरक पर्दैन
म यो संसार जित्नको लागि निस्केको यात्री हुँ
यात्रा गर्दै गर्दा दुईचार चोटि लडेर फरक पर्दैन।
(४)
छिमेकीले लाएका वचनलाई पीरमा राखेर
भएको जति सबै विश्वास यो तक्दिरमा राखेर
छोरो कतै बिग्रिन्छ कि भनी चिन्ता नगर्नु आमा
म हिँडेको छु हजुरको आशीर्वाद शिरमा राखेर ।
सिद्धिचरण नगरपालिका १०, ओखलढुङ्गा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।