
१
दुधे बालकलाई दुधबाट निकाल्ने र दूध काट्नेहरूको
बा आमाको काजकिरिया नगर्ने र आदर्श छाट्नेहरूको
देशजस्तै देश रहेन जोक्करहरूकै जोकले दुर्गति भो
ताली पिट्दैछ नोक्कर तमासा छ रगत चाट्नेहरूको ।।
२
नआऊ यादहरू जलाउँछु म आफैँ
मेरै जिन्दगी हो चलाउँछु म आफैँ
जति टुक्रा पार्छौ तिमी पार्दै जाऊ
टुक्रा टुक्रा बीचमै पलाउँछु म आफैँ ।।
३
नेतृत्व लिन्छ काम गर्दैन कुरा बेसी भन्छ
परिचय दिन्छ घरी देशी घरी विदेशी भन्छ
वा आमा वृद्धा आश्रम छोडेर फर्केको ऊ
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भन्छ ।।
४
लसुनमा ल झिक्छन् र सुन जनाउँछन्
सुनमा ल थप्छन् र लसुन बनाउँछन्
हन्तकालीहरूको हिम्मत बढ्यो भने
तराजुको देशका गजुर डग्मगाउँछन् ।।
५
निस्तै रात ढल्यो, जवानी बेकार भो
वर्षौंदेखिको त्यो, लगानी बेकार भो
चट्टान कि ऊ चट्याङ हो मैले बुझिनँ
दिल जल्यो यार, खरानी बेकार भो ।।
६
बचेराको बिचल्ली भो बाजले लगेछ माउ
झरी बनेका यादहरू बिन्ति चलाउँदै नचलाऊ
आगोले जल्दै जल्दैनन् हाम्रा सुमधुर पलहरू
म चट्याङको कहानी हुँ, तिमी सिन्दुर नलगाऊ ।।
७
प्रेम भन्थ्यो न म खुस रहेँ न ऊ खुस भयो
मुटुमा राख्न नपाउँदै उसकै मुटु झुस भयो
पानीसँग आगोले सम्बन्ध के जोडेको थियो
लगानी खरानी भो जिन्दगी भासभुस भयो ll
८
तेरो गर्जनले, तेरै गर्घन मोटायो
भोको छाप्रोले चिसै रात बितायो
रित्तो गाग्रीमा, जहाजको सपना देख्ने
भन सहिदको, छोराले के पायो ?
९
ध्यान दिँदैनन् या ज्ञान हुँदैन
गरिबको छाप्रोमा बिहान हुँदैन
भोकले लास उधिन्न थाले
चिहानमा सग्लो ज्यान हुँदैन ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

