१.
सिकिन्छ अनुभवले र केही जमानाले पनि
सिकाउँछन् बाजेबजै यी बुवाआमाले पनि
जालिम छ दुनियाँ बुन्छ जालो माकुरीझैं
सबै उदाङ्ग छ, छोपिन्न कुनै बहानाले पनि ।
२.
बारम्बार काँधको बन्दुक देखाएर
नथर्काऊ ! बाजेको तमसुक देखाएर
किन गर्भमै ऋण बोकाउँछौ सरकार ?
कोमामा देश राखी ढुकढुक देखाएर !
३.
आफ्नो आयु सन्तानलाई थपिदिन्छिन् आमा
देउता भन्दा यिनकै नाम जपिदिन्छिन् आमा
हजार दुःख मुटुभित्र पोको पारी राख्छिन्
हाँसी–हाँसी खै कसरी ! खपिदिन्छिन् आमा ।।