१.
सिद्धान्तको हुन्न कैले राजनीति यहाँ कतै
आशैआशा गराउने विषाक्त भो जताततै ।
पानी जति पोखे पनि बालुवामा सोसिदिने
मागी खाने भाडो भयो राजनीति पेवाजस्तै ।।

२.
रोएका छन् जनता ती भोक प्यास भनीभनी
आफ्नो माटो मलिलो भै बाली हुन्छ कैले भनी ।
बोलेका छन् जताततै हार गुहार भनेर नै
शान्तिकामी जनता ती रोई माग्छन् पानी भनी ।।

३.
देखिएन कतै पनि उज्यालोको रापजस्तो
मनैदेखि सजाएर माला उनौ भनेजस्तो ।
सज्जनता र इमान्दारी हराएछ कि देशैभरी
नगन्हाएको नेता पाउन गाह्रो भयो कस्तो ।।