सहरपिच्छे तिनका दरबार छन्

चिल्ला अनि महङ्गा कार छन्

म यौटा कुरा ठोकुवा गर्छु साथी

दरबार र कारमा प्रायः गद्दार छन्।

 

असत्यलाई जसरी पनि छोप्नै पर्छ

निमुखालाई छुराभाला रोप्नै पर्छ

साँच्चै तपाईं यो देशमै टिक्ने हो भने

भ्रष्ट दलका झन्डा, झोला बोक्नै पर्छ।

 

नेतृत्वलाई विदेशीले चालित बनायो

भ्युटावर अनि बग्रेल्ती सालिक बनायो

गणतन्त्रले देशमा साँच्चिकै चमत्कार गर्यो

जनसेवक हुँ भन्नेलाई मालिक बनायो ।

 

आफ्नो अलग्गै पहिचान हुनुपर्छ

मस्तिष्कभित्र दिव्य ज्ञान हुनुपर्छ

ब्वाँसाको प्रवृत्तिले मान्छे बनिँदैन

मान्छेमा त थोरै इमान हुनुपर्छ ।

 

नाङ्गो आङमा लुगा नै हाल्न नपाएपछि

विभेदपूर्ण नीति नियम फाल्न नपाएपछि

नागरिकताको खोष्टो के काम लाग्छ हजुर

साँझ र बिहान चुलो नै बाल्न नपाएपछि !

 

ममताकी खानी अनि जीवनकी सार हुन्

सृष्टिकै  अलौकिक अनि दिव्य आधार हुन्

जसले रक्सी धोकेर श्रीमती दिनहुँ कुट्छ घरमा

उसैले भन्यो नारी  साक्षात् देवीकी अवतार हुन् ।

 

 

सत्यवती—१,रामबारी, गुल्मी