धनी बन्ने कोही ती मान्छे बेचेर
धर्म कमाउने कोही घाँटी रेटेर
कति अग्लिने हौ यहाँ तिमीहरू
मेरो देशको स्वाभिमान टेकेर ।

धेरै पो हुँदैछन् वृध्द अशक्त, महँगाई बढ्यो
पालो मिचेर उता हेर्नु त, ढाडमा को चढ्यो
तपाईं हामीले चिटेको, भरिलो ढुङ्गे गारो
यता सुनिन्दै छ भूकम्प नआई, कसरी लड्यो ?

चुप्प मोई खानेको हातमा थ्यो छुरी
माखो नमार्नेकै सुनिने चुरीफुरी
हिजोअस्तिसम्म पैँचो माग्ने काकाको
खेती न जागिर कसरी अग्ल्यो धुरी ?

बाहिर अत्तर भित्र घुर, गन्हायो कान्छु
रातो बँदेल भन्थ्यौ सुँगुर, गन्हायो कान्छु
मैले त भनेकै थिएँ, आफ्नै मान्छे मानेनन्
परेवा भन्दै बेच्यौ ढुकुर गन्हायो कान्छु ।

 

त्रि. न. पा. – ११
उदयपुर