के गैंडाको छाला ओडेका शासकहरूलाई जनताको चित्कारले छुन्न र ?
के जनताले एक पटक त विकासप्रेमी सत्चरित्रवान् नेता चुने हुन्न र ?
एउटा माझीलाई त आफ्नो डुङ्गा डुब्ला कि भनेर कति धेरै चिन्ता हुन्छ
के देश डुबाउने ब्वाँसाहरूलाई देशको माया पटक्कै हुँदै हुन्न र ?

सूर्यको प्रकाश जतिसुकै तेज भए पनि छायाँलाई कहिले पो पोल्छ र
जतिसुकै असह्य पीडा भए पनि ढुङ्गाको मूर्ति कहिले पो बोल्छ र
जति सुकै दुःख, कष्ट, हण्डर, ठक्कर, चोटैचोट खाए पनि महोदय
आखिर नेपाली हो उसले आफ्नो बुद्धिको बिर्को कहिले पो खोल्छ र ?

बेमेल मनहरूलाई प्रेमको रसायनले जोड्नुपर्छ
विदेशिएका पाइलाहरूलाई अब मातृभूमितर्फै मोड्नुपर्छ
असरल्ल सामाजिक राजनैतिक विकृतिको शृङ्खलालाई अब
स्वाभिमानी पराक्रमी युवाहरू मिलेर सदाको लागि तोड्नुपर्छ ।