१.
बनाउँदा त आखिर हरेक चिजको किमा हुँदोरैछ
खारायोको फ़ुर्तिलो कछुवाको चाल धीमा हुँदो रैछ
यहाँ आफ्नै देशको नेता भन्न पनि कुन मुख्ले भनौँ
बरु वेश्याहरूबीच इमान्दारिताको सीमा हुँदो रैछ ।

२.
ताकपरे जिउँदै सुगुर म त मोल्छु हजुर
भेटे भने दुई चारवटा करङ्ग त्यसै पिसोल्छु हजुर
मेरो पनि योग्यता पुगेको छ एउटा होनहार नेतो बन्ने
पक्कै आउने चुनावमा त एउटा खाता खोल्छु हजुर ।

३.
न दिन भनिन्छ न त रात भनिन्छ
सन्तानको लागि सधैँ एक नास बनिन्छ
महोदय प्वाँख लागेपछि बचेराहरूले
आफ्नै जन्मदातालाई किन तुच्छ गनिन्छ ?

४.
कोइली भनौँ वा काग मलाई उस्तै उस्तै लाग्छ
बिरालो भनौँ वा बाग मलाई उस्तै उस्तै लाग्छ
यो उस्तै उस्तैको भिडमा सुन्नु न हजुर
नेता भनौँ वा दाग मलाई उस्तै उस्तै लाग्छ ।

५.
पैसाले पैसालाई तान्छ के यो भन्ने कुरा हो
बाबुको कुरा छोरोले मान्छ के यो भन्ने कुरा हो
साधरण कुरामा पनि गम्भीर रहस्य लुकेको हुन्छ
ठूला माछाले साना माछा खान्छ के यो भन्ने कुरा हो ।

६.
अरुका निम्ति हलि बनी गर्छन् काम आफ्नै स्वार्थको लागि
आमाको पिठ्युँमा निर्मम छाप्छन् डाम आफ्नै स्वार्थको लागि
महोदय आमा भन्ने शब्द नै छैन यिनका शब्दकोषमा
हो खरानी बनाए नेपालको नाम आफ्नै स्वार्थको लागि ।

७.
मनका आलो घाउ सुकाउने ठाउँ भट्टी नै त हो
मनभरि खुशी फुलाउने ठाउँ भट्टी नै त हो
यो जीवन ढलपल हुँदा दर्शन गरिराख्नु पर्ने
कलियुगको मन्दिर बुझाउने ठाउँ भट्टी नै त हो !

विराटनगर १