कसैको आँगनमा हजारौँ मलामी
कसैलाई मिल्छ तोपकै सलामी
मान्छेको मरण पनि कस्तो कस्तो
कसैको महंगो, कसैको छ सस्तो
कसैको छ सस्तो
कति धन कमायो, कति मन कमायो
( मरे पछि त मूढो सरी भो ) २
कति दान गर्याे, कति मान गर्याे
मान्छेको हिसाब थरि थरिको
कसैलाई सयौँ छन्, काँध लाउने
कसैलाई कोही हुन्न उठाउने
कसैको आँगनमा हजारौँ मलामी
कसैलाई मिल्छ तोपकै सलामी
कसैको नामले पाटी पौवा बन्छ
( कसैको त यहाँ नामै मेटिन्छ ) २
पुकार्छन कसैलाई हजारौँ हजारले
जो ढल्यो एकलै ऊ कहाँ भेटिन्छ
फूलैको हारमा, चन्दनको चिता
कसैको छ मरण यहाँ रमिता
कसैको आँगनमा हजारौँ मलामी
कसैलाई मिल्छ तोपकै सलामी
यो हावा यो पानी, घामले भनेन
मान्छेलाई फरक फरक गनेन
पुगेर मिति रुकेको को छ
आयो त काल कसैलाई छोडेन
कोही गए स्वर्ग कोही अन्तै गए
सबै माटो मै मिली माटो नै भए
कसैको आँगनमा हजारौँ मलामी
कसैलाई मिल्छ तोपकै सलामी ।।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।