गीता बजगाई अधिकारी

हे भानु तिमी साहित्य भित्र गहिरो छाप हौ
नेपाली बिचमा उदायमान सूर्यका ताप हौ
सम्झना तिम्रो हृदय भित्र एकनास धड्किन्छ
मस्तिष्क उस्तै नौनी झै गरी सलल पग्लिन्छ॥

दिलका भाव हुर्हुरी फुर्छन् चरी झै उडेर
पोखियो मसी संसार भरी तिमीमा डुबेर
घर घर हेर लय त्यो हाली रामायण गुञ्जिन्छ
प्रौढ र बच्चा सबैका मुखमा कविता झुन्डिन्छ ॥

नेपाली पनको बगैंचा भित्र त्यो तिम्रो मुस्कान
तिम्रा ति कृति साहित्य ज्योति भाषाको मुहान
चरी र बरी नौ डाँडा भरी तिम्रै गीत गाउँछन्
राम सीताका नक्कल गरी पिरती लाउँछन् ।।

साहित्यमा ठूलो एकता गरी अगाडि लम्कियौ
मौलिक काव्य रचना गरी तारा झै चम्कियौ
नेपाली भाषा साहित्य गॅँस्दै आवाज घन्कियो
चाँदी र रम्घा गाउँ र बेसी जून झै चम्कियो ।।

मठ र मन्दिर शङ्ख घण्टा बज्दछन् बिहान
दीपको ज्योति झलल बल्छ हिमाली सिरान
संस्कारी थियौ संस्कार दियौ सभ्यता साँझमा
वेद र पुराण धार्मिक ग्रन्थ रामायण माझमा ॥

आकाश गंगा मन हुने चङ्गा वाङ्मय सागर
इच्छा शक्ति सर्वोच्च शिखर अनमोल अपार
जिउने आधार एउटै छ सदा जिन्दगी भरिमा
रोपेर राख्नु पुस्तक राम्रो साहित्यको बारीमा