प्रल्हाद कुमार ढकाल

आँप खाने काटेर
बयर खाने बाँडेर
मेवा खाने ताछेर
मुसु मुसु हाँसेर ।

अनार खाने छोडाउँदै
जुनार खाने केलाउँदै
सुन्तला खाने छिलेर
सबै जना मिलेर ।

आरु खाने पुछेर
उखु खाने चुसेर
केरा खाने खोलेर
साथी साथी बोलेर ।

स्याउ खाने सुटुक्क
काफल गेडि कुटुक्क
एभोकाडो चिरेर
भान्छा भित्र छिरेर ।

कागती खाने निचोरी
अम्बा खाने कोपरी
नास्पाती नुनमा चोपेर
सिन्का ले खोपेर ।

भुइँकटहर खाने उखाली
जामुन खाने पखाली
बदाम दाना कुरुक्कै
खान पाए हुरुक्कै ।

लिची खाने हेरेर
अङ्गुर खाने धोएर
ओखर खाने फुटाउँदै
साथी संगी जुटाउँदै ।

ऐसेलु खाने खोजेर
सरिफा खाने रोजेर
भोगटे निबुवा साँधेर
बराबरी बाँडेर ।

सबै फलफूल स्वादिला
रसिला र पोषिला
ताजा सफा चपाउँने
रोग ब्याधि भगाउँने ।