गीत ~ १
नाता हाम्रो टुटेपछि
यात्रा बीचमै छुटेपछि
यस्तो ठाउँमा उभेको छु
न त पर्ख भन्न सक्छु
न त फर्क भन्न सक्छु।
भूलै भूलको यो कथामा
कसुर तिम्रो हुँदै होइन
साथ त्यसै छुटाउनु खोज्ने
दस्तुर मेरो पक्कै होइन
एउटै भूलको अन्तिम सजाय
भोक्दै एक्लै हिँड्यो नै छु
न त पर्ख भन्न सक्छु
न त फर्क भन्न सक्छु ।
ढुकढुकी तिम्रो छाम्न नसकी
बाटो मैले बिराएको हुॅ
सुनसान तिम्रो रातहरूमा
दुख्ने गरी पिराएको हुॅ
तिमी गएको हेरिरहँदा
नहुनु अबेर भएपछि
न त पर्ख भन्न सक्छु
न त फर्क भन्न सक्छु ।
गीत ~ २
तिमीलाई छोएर बग्ने हावा
यो बाटो नआऊ भन्दिनू।
तिमीलाई चुमेर उड्ने भुवा
 यो बाटो नआऊ भन्दिनू।
यो रित्तिएको सहरबीचमा
तिम्रो सम्झना अपराध हो।
यो सल्किएको मनभित्र
कल्पना तिम्रो बरबाद हो।
छोडेका पाइलाछाप मेट्दै
यादहरू अब नआऊ भन्दिनू।
मेटिन लागेका सपना केलाउँदै
 रातहरू अब नआऊ भन्दिनू।
तिमी छेनौ रे पहिलेजस्तो
सम्झनाहरू रेटिदिएछौ ।
स्पर्शहरू मनले छोएका
धमिलो बनाई मेटिदिएछौ।
हिँड्दा उप्किएका ढुङ्गाहरू
बनाउन फेरि नआऊ भन्दिनू
उभिदा कुल्चिएका थुँगाहरू
ठडाउन फेरि नआऊ भन्दिनू।
तिमीलाई छोएर बग्ने हावा
यो बाटो नआऊ भन्दिनू
तिमीलाई चुमेर उड्ने भुवा
 यो बाटो नआऊ भन्दिनू।