पुष्कर रिजाल

यो दशैं पनि घर आउन पाइनँ भन्दिनू सबैलाई
नरुनू प्यारा आमा र बुवा भुल्दिन कसैलाई

यो साल त कान्छो कोरियाबाट फर्किँदा रमाइलो
खाडीमा मलाई केही चिन्ता छैन; सधैँ छ घमाइलो

आइसाल त म नि फर्के र चर्के पिंग हाल्छु कोटघरमा
संक्रान्ति मेला ऐरावती लान्छु, प्यारीको रहरमा

तिहारमा पनि आउँदैन दिदी नरुनू सम्झेर
थाम्नू त्यो मुटु, परेली बग्लान् पछ्यौरी भिजेर

शीतलपाटी मास्तिर सानो चौतारो चिन्ने हो
काँसझैँ फुलिन्; बजैको पनि चौरासी गर्ने हो

पालीको मुनि बार्दली राम्रो जोड्ने मन बाको छ
ढिकी र जाँतो; खोरिया-पाखो खै कस्तो भा’को छ !

म आउँछु फर्की खेत र बारी आफैले जोतौँला
त्यो पारिखेत, त्यो गैराबारी आफैले गोडौँला !