

श्रीजन ताम्रकार
(१)
फूलको कथा
उस्तै लाग्छ मलाई
आफ्नो व्यथा !
(२)
के गर्नु धन
एक मुठ्ठी श्वास नि
किन्न नसक्ने !
(३)
जात धर्म के ?
मानिस मानिस हो
विभेद किन ?
(४)
जुगौं देखिको
भ्यागुतोको कहाँनी
तिमी र हामी !
(५)
दिन, रात भो
एकतर्फी कुराले
तिखो छुराले ।
(६)
आफ्नो पराई
दुई थोपा आँसुले
चिनाइदिन्छ ।
(७)
हिजो पोखरी
आज खुल्ला चौर
भोलि महल !
(८)
रित्तो छ गाउँ
अस्त व्यस्त सहर
कतारमा म ।
(९)
बारुद हैन
रसिया युक्रेनमा
बुद्ध पठाऊ ।
(१०)
छैन गुनासो
कसैले साथ दिन्छ
कसैले पाठ !
लेखक परिचय :
श्रीजन ताम्राकार, नेपाली गीत-संगीत क्षेत्रका एक चर्चित तथा स्थापित कलाकार हुन्हुन्छ। नब्बेका दशकको चर्चित नेपाली सांगीतिक समुह ‘ओकिली’ का रचनाकार, संगीतकार तथा गायक श्रीजन विगत १५ बर्ष देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आउनु भएको छ।
नेपालमा रहँदा काठमाण्डै उत्सव, ट्रेडेक्स, शिखर एक्सप्रेस लगायतका बिभिन्न सांगीतिक महोत्सवहरु र कार्यक्रमहरुमा आयोजक र संयोजकका रुपमा सक्रिय उनी आफ्नो लामो अनुभवहरुलाई निरंतरता दिँदै अमेरिकमा पनि नेपाली समुदायमा हुने एएनए कन्सर्ट, नेपाल फेस्ट, बृहत नेपाली सडक महोत्सव, श्रष्टा भेला, ईनास अनपल्गड जस्ता बिभिन्न महत्त्वपूर्ण सांस्कृतिक र साहित्यिक कार्यक्रमहरुलाई कुशलताका साथ सम्पन्न गरि आफ्नो बेग्लै इतिहास कोरिसकेका छन् ।
मेरिल्याण्ड राज्यमा नेपाली समुदायको आफ्नै पहलमा निर्माण भैरहेको हिन्दु बुद्ध मन्दिर निर्माण अभियान, विभिन्न सामाजिक, साहित्यिक, साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु, स्थानीय अनलाईन मिडिया ईनेप्लिज लगायत हाल “अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज – ईनास मेरिल्याण्ड” को अध्यक्षको रुपमा रहि नेपाली भाषा, साहित्य, कला-संस्कृति र संगीतमा समर्पित श्रष्टा, सर्जक तथा कलाकारहरुलाई एक्यवद्ध गरि यस क्षेत्रको सम्बर्द्धन र प्रवर्द्धनमा निरन्तर क्रियाशील रहेका छन् । स्थानीय रुपमा हुने बिभिन्न सामाजिक गतिविधि र अभियानहरुमा उनको सक्रियता र समर्पणको उत्तिकै चर्चा पाईन्छ भने जसका लागि बिभिन्न संघसंस्था तथा स्थानीय राज्य सरकारबाट सम्मानित समेत भइसकेका छन्।
गीत संगीत, मनोरञ्जन र सामाजिक सेवाका साथमा साहित्यमा पनि रुचि राख्ने उनले बेलाबेलामा बिभिन्न माध्यमहरुबाट आफ्ना सृजनाहरु पस्केने गरेका छन्। उनैका १० ‘हाइकू’ रचनाहरु यहाँ प्रस्तुत गरेका छौं।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

