१
बज्रिएपछि
अहङ्कार आफैँमा
फुक्लन्छ सिङ
२
पत्नी प्रवासी
पति चैँ घरबासी
छ रुवाबासी
३
कुरा-कुरामै
बहकिन्छ युवक
रित्तो पहाड
४
रक्सीको लत
नयाँ नयाँ बहाना
आँसुको दह
५
मरेर पनि
जीवात्मा बन्न पाए
चिहानै स्वर्ग
६
अस्पताल हो
रोग साट्ने ठाउँ भो
नयाँ रोगको
७
डाक्टर बाबु !
खल्तीभित्रको रोग
सबै निखाऱ्यौ
८
बिदेसिनेको
मलिन मुस्कानले
मन रुवायो
९
धराको धाम
हिउँदभरि प्यारो
पारिलो घाम
१०
छिमेकीलाई
कसरी दिन सक्नु
त्यो कालापानी
११
आँसु बन्दो छ
विगतको वीरता
लिपुलेकमा
१२
खोरै त पस्यो
आँसु झार्नुपर्छ र !
बोकै त थियो
१३
हाऱ्यो रोगले
छाड्दै नछाडेपछि
छाड्नैपर्नेले
१४
छोएको छैन
गगनको चित्रले
दुखेको मन
१५
बाढीमा बग्दै
सप्तकोसी रुएको
कसरी हेर्नु !
१६
नआए हुन्थ्यो
हुरीझैँ बौलाएर
मनको डर
१७
झिस्मिसे गइन्
घामको अँगालामा
रात तर्कियो
१८
बर्खाको याम
गोठालाको पिरलो
पानी र घाम
१९
दुखाइभित्र
मुहारको पाटीमा
आँसुको चित्र
२०
लाजको डर
शरीरको रहर
वधु र वर
२१
यौनिक चाह
रुँदा पनि हाँसेरै
पस्छ खोरमै
२२
विधि तोडेमा
ब्ल्याकहोलमा छिर्छ
सारा ब्रह्माण्ड
२३
मरी जानेको
विपनाको संसार
सपनासरि
२४
सूर्यको ताप
ललाटको पसिना
मित्र-मिलन
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।