गोधूलि दिनेश

हाइगाः एक त्रिकोणात्मक कलाको संयोजन
हाइगा त्रिकोणात्मक साहित्यिक कलाद्वारा सिर्जना गरिने एक रचना हो। आ-आफ्नै एक्लै अस्तित्व बोकिरहेका सिर्जनात्मक रचनाहरू हाइकु, चित्रकला र हस्तलिपीको संयोजन हो हाइगा। साहित्यिक कलाप्रेमीहरूले हाइगालाई केही समय लगाई हेरेर, पढेर, घोत्लिएर रसास्वादन गर्ने गर्छन्। अनि, एक अद्‌भूत आत्मानुभूति गर्ने गर्छन्। हाइगाको आत्मा भनेको हाइकु हो। यस आत्मासँग लय मिलाएर कोरिएको चित्रकला यसको शरीरजस्तो हो। हाइकु हाइगाको आत्मा हो भने आकर्षित र उपर्युक्त लिपिकलाद्वारा लेखिएको हाइकु त्यस हाइगाको बाह्य मुहारको शृङ्गारजस्तो हो।

गोधूलि दिनेश

हाइकु र त्यसमा कोरिएको चित्र एउटै क्यानभासमा ठोकिन्छ। अनि, हाइगा नाम गरेको एक आकर्षक साहित्यिक कला सिर्जना हुन्छ। यसमा कविता र चित्र दुवैले एकअर्कालाई सम्बोधन मात्र गर्ने होइन, दुवै कलाले एकअर्कालाई विस्तारित गरी पाठक तथा दर्शकसामु अझै बढी फिँजाएर पस्किन मद्दत पुर्याउँछन्।

हाइकु एक सूक्ष्म कविता हो। भनिन्छ, हाइकु अ-कथा हो। तर, यस्ले एउटा बृहत कथा बोकिरहेको हुन्छ। कविले प्रकृतिमा घटिरहेका साधारण घटनाहरूमा बिम्बहरूको झिल्काहरू भेट्टाउँछन्। अनि, न्यूनतम शब्दहरू बटुली तिनलाई सिँगार्छन्। शब्दहरूको चित्र बनाउँछन्। पाठकहरू यी शब्दलाई केलाएर घोत्लिन्छन्। मनमनै हाइकुमा कोरेका शब्द-चित्रले रमाउँछन्। शब्दहरूको संयोजनबाट बुनेका शब्द-चित्रले मात्र साहित्य अर्थात् हाइकुको सिर्जनामा लागेकाहरूलाई मन भरेन। सूक्ष्म कविता संलग्न गरेर रङ्हरूका ब्रसले चित्र कोर्न थाले।

चीनमा पहिलो सहस्राब्दीको सुरुदेखि नै सिर्जनामा प्रसिद्धि प्राप्त गरिसकेको यो सिर्जनकला जापानमा करिब दुई शताब्दी अघिदेखि मात्र सुरु भएको थियो। यसको न्वारन गरियो- हाइगा। हाइगा अर्थात् देख्न सकिने हाइकु या हाइकु-चित्र। एक सय वर्ष अघिदेखि यो हाइगा साहित्यिक कलाले विश्व भ्रमण गर्न सुरु गरिसकेको थियो। अहिले नेपालमा पनि हाइगाको लहर चल्न सुरु भइसकेझैँ लाग्दछ। मैले लगातार हाइगाहरू सिर्जना गर्न सुरु गरेको पनि एक दशक त नाघिसकेछ।

गीतलाई संगीत दिएर मधुर स्वरले गाएको सुन्न पाएपछि भैगयो नि स्वर्गको आनन्द। गीत पनि एक त्रिकोणात्मक कलाको सिर्जना हो। त्यस्तै हाइकुलाई चित्रमा भित्राएर सुन्दर लिपिले लेखेको देख्न पाएपछि भैहाल्छ नि स्वर्गको आनन्द। यो अर्को त्रिकोणात्मक कलाको सिर्जना।

नेपालमा पनि हाइगा भित्रिसकेको र बिस्तारै धेरैले रस लिन पनि लागिसकेको जस्तै लाग्छ। २०७५ सालमा मेरा ७५ वटा हाइगाहरुको सँगालो “नेपाली हाइगा” नामक पुस्तकको रुपमा प्रकाशित भई देश र विदेशमा पनि पुगिसकेको छ।२०७५ सालमा नुवाकोट साहित्य प्रतिष्ठानद्वारा पुष्कर लोहनी र श्रीराम श्रेष्ठ को सम्पादकत्वमा ६ वटा नेपाली हाइगाहरू समावेश गरेर चार पेजको पाम्प्लेटको रुपमा प्रकाशन सुरु भएको थियो। ती प्रत्येक पाम्प्लेटहरूमा विशिष्ट हाइकुकारका हाइकु र मेरा आफ्नै हाइकुलाई समेत सम्मिलित गरी मेरा हाइगाहरू छापिएका छन्।

हाइगाका विभिन्न स्वरुप
विभिन्न स्वरुपमा हाइगाहरू भेट्टाइने गरिन्छ। हाल, हाइगाहरू प्रायजसो तीन आधारभूत स्वरूपमा पाइन्छन्। जस्तैः मुहार (Portrait) हाइगा, व्याखात्मक (Iterative) हाइगा, तथा स्पर्शात्मक (Tangential) हाइगा।

मुहार हाइगाः हाइकुकारको मुहार चित्र समावेश गरी सम्मान दिने उद्देश्यले बनाइएको हाइगालाई मुहार हाइगा (Portrait Haiga) भन्न सकिन्छ। हाइगा सुरुवात् गर्ने पहिलो जापानी चित्रकार र हाइकुकार योसा बुसोनले उनलाई सबैभन्दा मन पर्ने हाइकुकार मात्सुओ बासोको हाइकुलाई सम्बोधन गरेर बनाएको ‘चिसो ओठ’ भन्ने हाइगा संसार भरी आज सम्म पनि अति मन पराइने हाइगा मध्य एक हो। यस प्रकारको मुहार हाइगा अन्य देशहरूमा बनाएको हाइगाहरूमा पनि प्रशस्त भेट्टाइन्छ। नेपालमा पनि बरिष्ठ चित्रकार उत्तम नेपालीले नेपालका प्रख्यात कविहरूको मुहार सङ्गै उनीहरूको कविता कोरेर एक प्रकारको हाइगाको स्वरुप दिनु खोज्नु भएको छ।

 

व्याखात्मक हाइगाः दोस्रो स्वरूप चाहिँ हाइकुलाई प्रस्ट्याउने उद्देश्यले त्यसमा लेखिएको विम्बहरूको व्याख्या गर्ने अर्थात् व्याखात्मक (Iterative Haiga ) हो। व्याखात्मक हाइगा भनेको हाइकुमा अभिव्यक्त पारिएको विम्बहरूलाई चित्रमा पनि त्यस्तै प्रकारले दर्साउने गरिन्छ। सजिलो भए पनि यो चित्र कोर्न भने त्यति सजिलो चाहिँ छैन। यस्तो हाइगामा दर्शकलाई एक चोटि हेरेपछि धेरै बेर घोत्लिरहनु चाहिँ पर्दैन। यस प्रकारको हाइगाको समस्या के हो भने यदि हाइकु पढ्दा नै आनन्द आयो भने चित्र तिर ध्यान जाँदै जाँदैन। त्यस्तै चित्र नै बुझियो भने हाइकु तिर किन ध्यान लगाएर दोहर्याइ तेहर्याइ पढ्नु पर्यो र? हाइगा जगतमा यस प्रकारका हाइगाहरू पनि प्रशस्त भेटिन्छ।

स्पर्शात्मक हाइगाः हाइकुमा वर्णित विम्बहरूलाई छोएर मात्र जाने चित्र जसले दर्शकलाई एक नयाँ अनुभूति प्रदान गर्न सक्छ त्यसलाई स्पर्शात्मक (Tangential Haiga) भन्ने गरिन्छ। यस स्वरुपको हाइगामा हाइकु र चित्रको विषय धेरै नजिक नहुने तर धेरै टाढा पनि नहुने गर्छन्। विश्वका हाइगाकारहरूले यस्तो स्पर्शात्मक हाइगा धेरै रुचाउने हुन्छन्। यस्तो हाइगाहरूमा कविता र चित्रहरूको विम्ब ठ्याक्कै एकै कुरामा ठोकिँदैनन् तर एकले अर्कोलाई यसो औँल्याउछन् मात्र। एकले अर्कोलाई बिस्तारित गर्न मदत पुराउँछन्। दर्शकहरूले एकचोटि हाइकु पढेर अपूरो महसुस गरिरहेका बेलामा चित्र देख्नासाथ ओहो! त्यसो पो भनेर सोच्ने गर्छन्। फेरि चित्रमा पनि केही पूर्णता नपाउँदा हाइकुमा भएको कविता पढ्छन्। पहिलो पटक कविता पढ्दा भन्दा दोस्रो पटक पढ्दा केही अझै भेट्टाउँछन्। बुझेर आनन्दमा रमाउँछन्। अनि अझ केही छ कि भनेर चित्र हेर्दा केही न केही भेट्टाउँछन्। यसरी स्पर्शात्मक हाइगाले दर्शकलाई दोहर्याई तेहर्याई चित्र र कविता बीच आँखा दिमाग र भित्री आत्मा समेत घुमाइरहन मजबुर पार्छ र पो आनन्द दिलाउँछ। अनि दर्शकमा सन्तुष्टि आउँछ।

हाइकु : एक सूक्ष्म कविता, हाइगाको आत्मा
हाइकु हाइगाको आत्मा हो। हाइकु बिना हाइगा हुँदैन। सिर्फ एक चित्र हुन्छ। हाइकु आफैंमा एउटा सिंगो सिर्जना हो। संसारको सबैभन्दा थोरै शब्दमा लेखिने सूक्ष्म कविता। तीन हरफमा लेखिने हाइकु जम्मा सत्र स्वर बाट बनेको हुन्छ।

बिहान सबेरै कुखुरा बास्छ। अचानक आँखा खुल्छ। आँखा झ्यालमा जान्छ। सिसा बाहिर डिलमा बसिरहेको सारौँले भित्र हेरेर घुरिरहेको हुन्छ।आँखा जुझ्छ।सारौँले केही खान मागेको जस्तो लाग्छ। सुति सुती के चाहियो भनेर सोध्दा भुर्र उडेर जान्छ। सिसा खोलेर झ्याल बाट हेर्दा पर स्याउको बोटको हाँगामा बसेर घुरिरहेको हुन्छ।एउटा कौवा त्यही बोटमा आउँछ। कौवा कराउँछ। सारौँ भुर्र उडेर जान्छ। नीलो आकाशमा सारौँ बिलाउँछ। त्यसै बेला एउटा भँगेरो कतै बाट भुर्र उडेर झ्यालमा आउँछ। हात अगाडि बढाउँदा दुबै हत्केलाको माझ बस्न आउँछ। त्यसको कलिलो भुवादार रौँ र प्वाँखले हातको हत्केलाले बनाएको गुँडमा केही गर्मी महसुस हुन्छ। भँगेराले मुन्टो आफ्नो जिउतिर घुसार्छ। निदाएझैँ गर्छ।

प्रकृतिमाझ रहँदा बस्दा महसुस गरेका आत्मीय पल वा घटनाहरूलाई कविले पाठक सामु थोरै शब्द प्रयोग गरी दुई वा तीन विम्बहरू द्वारा वर्णन गर्छन् हाइकुमा। बिस्तारपूर्वक वर्णन गर्दैनन्। चट्ट मीठो छोटो विम्बहरू बोलेर अथवा लेखेर आश्चर्य, उन्माद, आवेग तथा अनुभूति दिन्छन्। पाठकहरू यसलाई घोत्लियर दोहोराएर तेहराएर पढ्ने गर्छन् । त्यस विम्ब रूपी धागोलाई गुथेर पाठक आफै एउटा कथा गुथ्न थाल्छन्। मग्न हुन्छन्। हाइकु कुनै कथा, नियात्रा, उपन्यास या अन्य कविताहरू जस्तो एकैचोटीमा पढेर वा सुनेर रमाइलो लिने चिज होइन। खासमा भन्ने हो भने हाइकुले पाठकलाई नै एक सर्जक बनाउँछ।

सत्रौँ शताव्दीमा नै जन्म भइसकेको भएता पनि धेरै पछि मात्र त्यो छोटो मीठो कविताको न्वारन गरेछन् जापानका मासाओका शिकीले। झन्डै दुईसय वर्षपछि नाम राखेछन् हाइकु। हाइकु जवान भयो। हुर्क्यो बढ्यो। देश विदेश घुम्यो। ५० वर्ष अघिमात्र नेपाल पनि आइपुगेछ कविहरूको माझ। पारखीहरूको माझ शंकर लामिछानेको कलमबाट।

माकुरा जाल
झोलिएको ओसले
तन्किँदै गयो

हाइकुमा कविले कहिले पनि मलाई दुख लाग्यो, आश्चर्य लाग्यो या रिस उठ्यो या सुखको अनुभूति भयो भन्ने जस्ता कुरा भन्दैनन्। तिमीले यसो गर्नु पर्ने पनि भन्दैनन्।हाइकुकारले त सिर्फ फलानो समयमा फलानो स्थानमा फलानो मौसम रहँदा फलानो प्रकृति संस्कृति सङ्ग कुनै पल बिताएको कुरा मात्र भन्छन्। त्यसबाट आउने प्रतिक्रिया या महसुस हुने अनुभूति त पाठकले आफै खोज्नु पर्छ। हाइकुमा लेखिएका सात आठ शब्दहरूले पाठकलाई हाइकुकार पुगेका त्यस स्थान र समयमा पुर्याउँछ। हाइकुमा नलेखेका तर अनुभूति गरेका कुरालाई पाठकको आत्मा सम्म पुर्याउने काम गर्छ। सिद्धान्ततः हाइकुको तीन हरफमा तीन कुरा हुनु आवश्यक मानिन्छ। एक मात्र ऋतु वाचक विम्ब जसले समय र स्थानलाई परिभाषित गर्छ। एउटा काट्ने शब्द वा पढ्दा रोकिनु पर्ने जुन पाठकलाई सुन्दा या पढ्दा शून्यता महसुस हुन्छ।जसले दुई विम्बहरूलाई छुट्याउन मदत गर्छ। शून्यतामा पाठकलाई लुकेका कुराहरू भेट्टाउन मद्दत गर्छ। दुई विम्बहरूको संयोजन गर्दा समानता वा फरकबाट सिर्जना हुने अनुभूति नै सबैभन्दा महत्वपूर्ण कुरा हो। हाइकुकारले बाठो तरिकाले आफूलाई के अनुभूति भएको भन्दैनन् तर सबैलाई केही भएको हुनु पर्छ भनेर धेरै शब्द नखर्ची औँल्याइदिएका मात्र हुन्छन्।हाइकु कविता छोटो हुन्छ, सूक्ष्म हुन्छ सरल भाषामा लेखिएको हुन्छ तर पुरा कथा बोकेको हुन्छ। सुक्ष्मता मा लुकेको वृहतता हो हाइकु।

पूर्वीय देशहरूबाट पहिलो सहस्राब्दीमा नै सुरु भएको यस्ता व्यक्तिगत अनुभूति नदर्शाई सिर्जना भएका विषय प्रधान छोटा कविताहरू बीसौं शताब्दीमा आएर मात्र विश्वका अरू विभिन्न देशहरूमा विभिन्न भाषामा विभिन्न रङरूप लिएर आउन थाले।आधुनिक र पूर्व आधुनिक हाइकु सिर्जना गर्ने होडबाजीमा ऋतुबोधक शब्द बिना नै पनि हाइकु सिर्जना भइरहेका छन्। हाइकु को रचना जापान देखि बाह्य संसारमा बिस्तार हुँदै जाँदा विभिन्न देशका आधुनिक हाइकुकारहरूले आ-आफ्ना भाषा, ऋतु, परिवेश तथा संस्कृतिलाई दर्साउन यसलाई परिमार्जित गरी आधुनिक प्रविधिहरू पनि प्रयोग गर्दै आएका छन्।तीन हरफ सत्र स्वर नभएका र अझ त्यस भन्दा कम हरफ र कम शब्दका हाइकुहरू पनि हाइकुकारहरूले सिर्जना गरिरहेका छन्। साथसाथै परम्परागत शैलीका दुई वा तीन विम्बहरूको प्रयोग गरेर पाठकलाई ‘अहा ! यस्तो पनि हुँदो रहेछ भन्ने अनुभूति महसुस गराउने काम पनि हाइकुले गरी नै रहेको छ। तर, सबैलाई हाइकु नै भन्ने कि अलग नाम दिने हु भन्ने कुरो पनि हाइकुकारहरूमाझ बारंबार आइनै रहन्छ।

चित्रकलाः हाइगाको पूर्ण शरीर
शब्दहरूको समायोजन गरेर कविले आफ्नो आत्मानुभूति दर्साउने एक कला कविता हो। त्यस्तै, रङहरूलाई उचित समायोजन गरेर आफ्नो आत्मानुभूति दर्साउने एक अर्को कला हो चित्रकला। कविले लेखेका कवितालाई चित्रकारले आफ्नो चित्रबाट अझै विस्तारित गर्ने कला पनि शताब्दी पुरानो नै हो। कविलाई आफ्नो शब्द सङ्ग माया बसिरहेको हुन्छ। उ आफ्नो कल्पना र कलममा मस्त भइरहेको हुन्छ। चित्रकारलाई पनि आफ्नो रङ्हरू सङ्ग रमाएर आफ्नो ब्रसलाई आफू खुसी नचाइराख्न आनन्द आउँछ। चित्रकारलाई अरूले लेखेको कविता मन त पर्छ तर त्यसलाई आफ्नो चित्रमा शब्द कोरेको मन पर्दैन। चित्रमा शब्दहरू कोरेको त्यति मेल खाँदैन किन कि म त रङ सँग खेल्ने स्वतन्त्र मान्छे त्यसैले त्यस्तो गरेको फोहोर लाग्छ मलाई मन पर्दैन भन्ने गर्छ। त्यस्तै कविलाई चित्रहरू देख्दा त्यसमा दर्साइएका आत्मानुभूतिहरू मन पर्ला तर त्यही चित्रलाई देखेर कलम उठाइरहन र त्यही चित्रको क्यानभासमा लेखिहाल्न त्यति मन पर्दैन। तर, कसैलाई शब्द र रङ दुवै सँग सँगै खेल्न आनन्द आउँछ। हाइगा एक यस्तै विभिन्न आयामका कलाको सङ्गम हो। आफ्नै सिर्जनामा होओस् या कलाको अर्को पाटोमा तयार पारेको कुनै व्यक्तिको कलालाई होओस् त्यसलाई सहकार्य गरी तयार पार्ने सिर्जना हो- हाइगा।

यस्तो कविता र चित्रकला समावेश गरी कोर्ने चलन चिनमा छैटौँ सातौं शताब्दी देखि नै सुरु भएको देखिन्छ। अठारौँ शताब्दीका योसा बुसोनलाई हाइगाका प्रवर्तक मानिन्छ।जापानका हाइकुकार बुसोन त्यस जमानाका एक सफल चित्रकार पनि थिए। आफूमा भएको दुवै सीपलाई जोडेर हाइगा सिर्जना गर्ने प्रयोग गरे जसले जनमानसमा ठूलो प्रभाव पार्न सफल भयो। बुसोनले सुरु गर्नु भएको हाइगा सिर्जना गर्ने सिद्धान्तलाई आज सम्म पनि विश्व भरका हाइगाकारहरूले अपनाइराखेका छन्। कालो मसी र न्यूनतम् रङ् प्रयोग गरी ब्रसले हाइकु सँग संयोजन गरी हाइगा सिर्जना गर्ने। अहिले पनि हाइगामा दर्शकलाई घोत्लिनको लागि प्रशस्त खाली ठाउँ अर्थात् शून्यता राख्नु पर्छ भन्ने मान्यता रहेको छ। फोटोग्राफी र कम्प्युटर जस्ता आधुनिक प्रविधिको आविष्कारपछि हाइगाको परम्परागत शैलीमा फोटो र कम्प्युटर ग्राफिक्स पनि प्रयोग भइरहेको छ। तर यसलाई हाइगा नभनि अर्कै नाम दिइनु पर्छ भन्ने जमात पनि थुप्रै छन्।

जापानमा हाइकु र हाइगा तीन चार सय वर्ष अगाडि देखि नै प्रचलनमा आएको भए तापनि हाइकु विश्वका अन्य देशहरूमा सय वर्ष यता र हाइगा दुई दशक देखि मात्र विस्तारित भइराखेको पाइन्छ। नेपालमा यदाकदा कविताका चित्रहरू कोरिएको त देखिएको छ तर त्यही चित्रमा नै कविता लेखेको यदा कदा देखिएका छन्। झन् हाइकु लेखेर चित्र कोरेको धेरै जना सँग बुझ्दा पनि भेटिएन।

लिपिकलाः हाइगाको सिँगारिएको मुहार
हाइकुलाई दृश्य कविता पनि भनिन्छ। एक त यसले प्रकृति या कवि भौँतारिरहेको कुनै परिवेशमा उसले देखेका या अनुभव गरेका विम्बहरूलाई औंल्याउने प्रयास गरेका हुन्छन्। उसका विभिन्न इन्द्रीयहरूले महसुस गरेका विम्बहरू। कुनै आँखा बाट हेरेर देखिने हुन्छ।कुनै कानले सुन्ने आवाज हुन्छ। कुनै नाकले महसुस गर्ने वासना हुन्छ। कुनै जिब्रोले पाउने स्वाद हुन्छ भने कुनै शरीरको छालाको कुनै भागको स्पर्श बाट थाहा पाउने खालको विम्ब हुन सक्छ। आँखाले नदेखे पनि चमेली फूलको वासनाको विम्ब हामी नाकले थाहा पाउँछौँ। अँध्यारोमा होस् या रुघा लागेको बेलामा पनि चिसो तातो हाम्रो छालाले थाहा पाउँछ। यस्ता विभिन्न इन्द्रीयद्वारा महसुस भएको विम्बहरूलाई हाइकुकारले एउटा सुन्दर लिपिमा उतारेर प्रदर्शन गर्छ। हाइगामा लिपी कलाको पनि अरू कला सरह नै महत्व हुन्छ।

यो छोटो कवितालाई एक चोटि मात्र सुनेर पुरा आनन्द लिन नसकिने र दुई तीन चोटि पढ्नु पर्ने या सुन्न पर्ने हुनाले पनि हाइकुकारले वाचन गरेर मात्र नपुगी लेखेर पनि दर्शनीय बनाउने प्रथा आएको रहेछ। आ-आफ्नो भाषाको सुन्दर लिपिमा लेखेर हाइकु प्रदर्शन गर्ने चलन चलिआएको छ। तसर्थ हाइकुलाई दृश्य कला भने पनि हुन्छ। मात्चुओ बासोको पुरानो पोखरीमा पानीको स्वर देखिने चिज होइन। तर, ‘मिजुनो ओसो’ भन्ने जापानी लिपी कला द्वारा लेखिएको हेर्दा खेरी अनुभूति महसुस हुने गर्छ। क्यालिग्राफी अर्थात् सुन्दर हस्तलिपि को हाइगा सिर्जना गर्न महत्वपूर्ण योगदान रहन्छ। कस्तो प्रकारको लेखोट गर्ने। कत्रो आकार लिपि राख्ने । चित्रको कुन स्थानमा हाइकु लाई राख्ने। अनि दर्शकलाई पढ्न सजिलो हुने र दोहोर्याई तेहर्याई पढ्दा पनि अप्ठ्यारो नहुने कस्तो लेखेमा हुन्छ। हाइकुको साथै लिपिको सुन्दरताले पनि दर्शक आकर्षण गरोस् न।

चीनमा र जापानमा चिनिया लिपि द्वारा माथि बाट तल एक या तीन हरफ लेखेर यो सूक्ष्म कविता हाइकुलाई अरू समक्ष प्रस्तुत गर्ने चलन दोस्रो शताब्दी देखि नै आइरहेको हो।अरबी भाषामा दायाँदेखि बायाँतिर सुन्दर लिपी मा लेखेर हाइकु दर्शक सामु प्रदर्शन गरिन्छ।सुदूर पूर्वका देशहरूमा चाइनिज जापानिजहरूको आफ्नै लिपी छ। अरू भन्दा फरक छ। त्यसपछि पच्छिम तिर लाग्दा भारत नेपालमा संस्कृत पाली आदि पाइन्छ। मध्य एसियातिर लाग्दा अरबी उर्दु प्रयोग गरिन्छ। यहुदीहरूको हेब्रु भाषाको लिपी अलग्गै छ। त्यसपछि अझ पच्छिम लागेपछि युरोपमा रोमन, ल्याटिन अङ्ग्रेजी भाषामा लेखिन्छ। नेपाली भाषामा देवनागरी भाषामा पहिलादेखि नै लेखिँदै आएको छ। यो लेख्दा बायाँ बाट दायाँ लेखिन्छ। तीन हरफको हाइकु लेखेमा माथिबाट तल हरफ सर्दै जान्छ।

कुनै शब्दलाई मोटो मोटो चौडा प्रस्तुत गर्दा ठूला ठूला जनावर हात्ती बाघ भालु जस्ता भनेर बुझ्न रमाइलो हुन्छ। साना कीरा फट्याङ्ग्रो आदिका विम्ब जनाउँदा मसिना अक्षरले लेख्दा राम्रो हुन्छ। पानी परेको, तथा रुख बाँस आदिका विम्बलाई लामा लामा लिपि उचित हुन्छ। हाइकु आफूमा नै दृश्य कला हो भने हाइगा भनेको त अझ त्यो हाइकुलाई आकर्षित गर्ने सुन्दर लिपिले क्यानभासमा उचित स्थानमा लेख्ने अर्को कला हो। हाइकुलाई अझै विस्तारित गर्ने चित्रकला समेत समावेश गरेर समायोजन गर्ने फेरी अर्को कला हो। यसरी, हाइगा एक त्रिकोणात्मक कला हो।

हाइकु-हाइगाका केही सान्दर्भिक ग्रन्थहरू
१) Haiku: The poetic key to Japan, Matsuo Takahashi, Hakudo Inoue and Kazuya Takaoka, PIE Books, Tokyo, 2003.
२) The Haiku handbook: How to write, teach, and appreciate Haiku, William J. Higginson and Penny Harter, Kodansha International Tokyo, 2009.
३) Haiku in English: The first hundred years, Edited by Jim Kacian, Philip Rowl and Allan Burns, W.W.Nortan & Company, Inc. USA, 2013.
४) Naad Anunaad: an anthology of contemporary world haiku, edited by Kala ramesh, Sanjukta Asopa and Shloka Shankar, Vishwankarma Publications, india, 2016.
५) See Haiku Here (Haiga Collaboration): Matsuo basho and Kuniharu Shimuzu, 9/2015.
६) See Haiku Here (Haiga Collaboration): Buson Yosa and Kuniharu Shimuzu, SHH Press, 11/2015.
७) See Haiku Here (Haiga Collaboration): Issa Kobayashi and Kuniharu Shimuzu, SHH Press, 11./2015
८) See Haiku Here (Haiga): Kuniharu Shimuzu, SHH Press, 9/2015.
९) Looking and Seeing: How Haiga Works, Jim Kacian, 2002, Available in electronic version (www.gendaihaiku.com/kacian/haiga.html)
१०) Haiku Techniques, Jane Reichhold, 2000, Available in electronic version
(www.ahapoetry.com/hairtjr.htm)
११) A Haiku Workshop with Quendryth Young, 2016, Available in electronic version
(www.ssoa.co.au)
१२) नेपाली हाइगाः … .. पोखरीको डिलमा बुढो भ्यागुतो, गोधूलि दिनेश, काठमाडौँ। ISBN: 9789937052559.
१३) Haiku and Nepali Haiga of Godhooli Dinesh, available in electronic version. फोटो हाइकु २०१० टोक्यो जापान, हाइकु पलहरू, गोधूलि हाइगा २०१४, गोधूलि हाइगा २०१५, गोधूलि हाइगा २०१६, हाइगा २०१७ … (www.dineshchapagain.com.np/books_quality.php)