१.
नेपाल भन्ने एउटा अजीब देश छ
जहाँ चोरहरूको सधैँ साधु भेष छ

कर्मशीलहरूको तानिन्छ खुट्टा हरदम
जाली फटाहाहरूको चर्को यश छ

मरिसक्यो मौलिकता र संस्कृति
नक्कल झक्कल र अनुकरण शेष छ

सत्य बोल्नेको थुतिन्छ जिब्रो यहाँ
मरेतुल्य हुनु र चुपचाप नै बेश छ

उन्नति र प्रगति मात्रै छ सीमितलाई
कुहिरोसरि जताततै मात्रै हरेश छ

 

२.
थोरै बहिरो धेरै गहिरो मदहोशी रात मीठो
पस्केर देऊ माया चुरी बज्ने हात मीठो

कोकिल कंठी प्रिया तिमी गाइदिन्छौ कुहु कुहु
शिशिरमा नै वसन्त ल्याउने पिरतीको बात मीठो

जीवनयात्रा एक्लै हिँड्दा कहालिन्छ मन मुटु
विकट यात्रा सरल बन्ने प्रियसीको साथ मिठो

दुनियाँ मान्छ ब्राम्हण शुद्र उच नीच छोई छिटो
मलाई लाग्छ तेसैतेसै पिरतीको जात मीठो

बाचा बन्धन बाचा पालन यिनै मेरा जीवन दर्शन
तिमीले नै दिन्छ्यौ भने ठान्नेछु म घात मीठो

 

३.
नेताजीको भाउ बढेर चुलिएछ गजुर
स्वाभिमान देशप्रेम के कसो हो भुलिएछ हजुर

गर्या थें रे बाचा बन्धन जनताको माझ
इमान्दारी खानी खाल्डो पुरिएछ हजुर

कमिसनले पेट लाग्यो टेन्डरले बोसो
भ्रष्टाचार धेरै भयो फ़ुलिएछ हजुर

कुर्चीको रङ चढ्यो भएछु म रंगीन
रंगविहीन पानीसरि घुलिएछ हजुर

फाटेको त्यो झोला थियो साइकलमा सयर
शक्ति पाई पजेरोमा गुड़िएछ हजुर

 

 

एडमन्टन, क्यानाडा