१.
टुटाएर वाचा – बन्धन धोका नदिनु
दुखाएर कसैको मन धोका नदिनु

कि त चित्त दुख्यो प्रिय किन मौन छौ
पर्खेकी छु एकैवचन धोका नदिनु

जून जस्तै मुस्कुराउँथेँ ताराहरू बिचमा
शून्य लाग्छ धर्ती, गगन धोका नदिनु

हिजो सँगसँगै अनि आज एक्लाएक्लै
दुनियाँले कुरा काट्छन् धोका नदिनु

एक बिमार दिलको छु अर्को यादको
नाजुक बन्छ अवस्था झन् धोका नदिनु

२.
उदाउने छु अँध्यारोमा प्रकाश बनेर
याद बनी आउने छु म बतास बनेर

मलाई घृणा नगर न दु:ख हुँदाखेरि
त्यो जीवनमा प्रवेश गर्छु खास बनेर

सबै फूल ओइलिएर झर्छन् झर्नलाई
वरिपरि फैलिन्छु म सुवास बनेर

दिलको धड्कन बनेर चाहना हो रम्ने
बस्न मन पक्कै होइन दास बनेर

हरण गर्छु बिस्तारै ती सारा पीडाहरू
आउँदै छु म धैर्य गर्नु मधुमास बनेर

३.
परिस्थिति नदीको किनारा जस्तो
सम्बन्धको चाहा दुई आँखा जस्तो

सपना बुन्दाबुन्दै सकिन्छ झैँ लाग्छ
नहुने रहेछ जिन्दगी विपना जस्तो

घरि मन दुख्छ घरि जिन्दगी दुख्छ
तँलाई लाग्ला जिन्दगी कथा जस्तो

तिमी बिना एकपल बाँच्दिन लाग्छ
जिद्दी गर्छ मन अचेल बच्चा जस्तो

आऊ जिन्दगीभित्र जिन्दगी खोजौँ
सधैं के बस्नु मन बनाएर ढुङ्गा जस्तो

४.
मन द्विविधामा छ के-के सोचिरहेछ
सोचेँ दुख्नेको यस्तै जिन्दगी रहेछ

मलाई पीडामा देख्दा खुशी भएछन्
लाग्यो यो दुनियाँमा मेरो कोही रहेछ

चिप्लिएर लड्दा पनि हात टेकी उठेँ
खुट्टा तान्ने दुश्मन आफ्नै पछि रहेछ

आफ्नो खानु छ, आफ्नै लगाउनु छ
कसैको फेरि मसँग के आपत्ति रहेछ

बा बेपत्ता छन् आमा घर छाडेर गइन्
टुहुराले ममताको काख खोजिरहेछ

५.
टुक्रिन चाहन्न म टुक्रा-टुक्रा बनेर
साथमा रहन सकूँ बरू ऐना बनेर

जति भार सहनु छ सहन सक्छु
काँडाबाट बचाउँला जुत्ता बनेर

अतीत भुल्ने बहाना खोज्दै थिएँ
कोही आयो फेरि व्यथा बनेर

जिम्मेवारीको बोझ उठाउन गाह्रो
जिउन पाए हुने बरू बच्चा बनेर

जसले झरी बनेर जिन्दगी रुझाए
बचाउन सकेनन् कठै! छाता बनेर

कुलेश्वर-१४, काठमाडौं