गजल

जिन्दगीलाई चिनेको छु जन्मे देखि अभाव बाट
तिमी जान्ने हुन सक्छौ रटि रटि किताब बाट ।
भैगो अब सुन्दरता लाई छुनु भन्दा हेर्दै जाती
उसै तीखो बन्छ काँडो फक्रीएको गुलाब बाट।

बीज गणित अंक गणित तिम्रा छुट्टै सुत्र होलान्
मैले नाता जोड्न सिकेँ औला भाँच्ने हिसाब बाट।
तिमी देख्छौ फलेको फल कहाँ देख्छौ फुलाइएको
हरेक दाना दाना बन्छ पसिनाको बहाब बाट।
पढ्यौ होला सयौँ तिम्ले लाखौँ मैले भोगेको छु
छुट्याउँछु साँचो झूटो असल अनि खराब बाट।
प्रतिकुल छ युग अचेल सुन्दरतालाई ढाके राम्रो
सुन्दर मुहार कुरुप बन्छ एकै थोपा तेजाब बाट।
सम्झनामा बगाएका यी आँसुका मात लाग्छन्
उति नशा लाग्दैन खै बोतलका यी सराब बाट ।