म नछुने नभएको भए
कसरी जन्मिन्थ्यौ पितृसत्ताका अहङ्कार हो ?
जन्मजात प्रकृतिले दिएको
वरदान हो मेरो नछुनेहुँदा बग्ने रगत
मेरा नछुनेमा बग्ने रगतका कारण
तिम्रो उन्मत्त यौवन
पुरुषोत्व जात र धर्मभन्दा माथि छ
तिमीलाई सृष्टि चलाउन चाहिने शरीर
हजारौँपल्ट ठडिएका छन्न
निषेधका पिरामिड
थान, धाम र मन्दिरमा जान
तर मूर्ति कुँद्दा कुँद्दै
नछुने भएका भएका कलाहरूका
पवित्र भए मूर्ति र सजियो मन्दिर ।
सोच्यौ तिमीले अपवित्र तिनेरलाई ?
आज एउटा प्रश्न छ मेरो
पितृसत्ताका अतिवादी दासहरूलाई
कि देउता र मन्दिर बनाउनेहरूको
मुटुमा बहेको रगत र
मेरो नछुनेमा बगेको रगतमा के फरक छ ?
तिम्रा अतिवादी धर्मका पूजारीलाई
कहिले गर सोधेका छौ ?
कि बध गरी घाँटी छिनालेर
पाषाण मूर्तिमा अर्पण गरेको रगत
र नछुने रगतमा
जात
धर्म
रङ
के भिन्नता छ पूजारी ?
तर यति चाहिँ ख्याल गर्नु तिमीले
बर्जित गरेका मन्दिर र तिमीले पूजेका मूर्तिका भगवान्
मेरा लागि निषेध भएपनि
निषेध छैनन् मेरा ह्रदयका भगवान्
जब कि म नछुने हुँदा मात्र
आउँछन् मेरो दर्शन गर्न ।
कुसंस्कारका निषेधित पर्खालले
यही रातो रङको नछुनेमा
बर्जित भएका छन् मेरा चाडपर्वहरू
लखेटिएको छ घरबाट डरलाग्दा निर्जन ठाउँमा ।
पशुका घाँटी रेटेर रगत चढाउनेहरूले
निषेध गर्या छन् नछुनेहरूलाई
यही दुई थोपा रगत चुहेका भरमा
के भन्न सक्छौ ?
किन उस्तैउस्तै भयो ?
तिमीले देउता सिँगार्ने राता अक्षता र
मेरो नछुने रगतको रङ ?
रगतकै डल्लाको समागमबाट जन्माउने
बाआमाको थाप्न पाइन आशीर्वाद मैले
उत्सव र पर्वहरूमा ।
दश वर्षपछि भेट भएको भाइसँग तिहारमा
सप्तरङ्गी टीका लाएर ।
पाइन हेर्न अन्तिम सास छाड्दै गरेकी हजुरआमालाई
र बिदा गर्न पाइन
नछुने हुन्छे भन्दै बिहे गरेर पठाएकी बहिनीलाई ।
ताता रगतका फाल्साहरूमा
पाइन कहिल्यै हाँस्न
आमाको नैसर्गिक वरदान ठानेर ।
भन ए ! धर्मका चिन्तक हो !
के तिमीले सोध्यौ कहिल्यै आमालाई
नछुने हुँदा र म जन्मिँदाको रगत उस्तै थ्यो आमा ?
अनि यो पनि सोध
बा ! आमा नछुने नभकी भए जन्मिने थियौँ हामी ?
भन ए ! आवरणमा समता ओढेर
रगतको जात र धर्म छुट्याउने नरपशु हो ।
राता रगतमा मुछिएकी
नछुने माथि रातभर कति पटक थिचेर
स्खलित वीर्य लतपतिएर
कट्कटिएको दाग लिङ्गले
अर्को दिन बिहानै
किन रोकेनन् मन्दिरका देउताले दर्शन ?
किन छेकिएनन् उसका रहर र उत्सव ?
किन पल्टाइरहेको हुन्छ गीता पाठ ?
कि दुही रहेको हुन्छ गाई ?
किन बनाइरहेको हुन्छ पञ्चामृत ?
किन बाँचिरहेको हुन्छ ऋचा ?
किन पवित्र हुन्छ उसको शरीर ?
अनि
किन बर्जित हुन्छ म नछुनेलाई
रगतका कारण
निषेध हुन्छ उत्सव
जुठो हुन्छ गीता
अपशकुन हुन्छ पञ्चामृत
अपवित्र हुन्छ ऋचा
निषेध हुन्छन्
सङ्गीनी
साकेला
रोदी
कति पटक सोध्या छौ तिमीले
मृत्युशैयामा छटपटिँदा
तिम्रा शरीरमा पस्दै गरेको रगतको पोको
डा.साब यो कुन जात, धर्म
छुत र अछुतको रगत हो ?
अनि सोध्या छौ कि छैनौ ?
बा ! तिमीले नछुने
अपवित्र आमालाई समागम गर्दा
तिमी चाहिँ पवित्र थियौ कि अपवित्र ?
अन्तिम प्रश्न अब
आज मात्र चार दिन भो म नछुने भएको
हिजो राति झरेको छ मेरो पाठेघरमा
पितृसत्ताको दुई थोपा वीर्य
भन ! मेरो योनी पवित्र थियो कि अपवित्र ?
अनि पाठेघरको भ्रूण नि ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।