खुम्चिएको मनलाई उदार चाहिन्छ
बिग्रिएको तनलाई सुधार चाहिन्छ

मान्छेको चाहनाको के कुरा गर्नु
जो तिर्दैन, उसलाई उधार चाहिन्छ

भोको पेटलाई मुट्ठीभरी दिएन जसले
महामारीमा उसलाई उद्धार चाहिन्छ

हिजो साइकलको लागि दौडिएको ऊ
आज त्यहीँ सम्मलाई ‘कार’ चाहिन्छ

सुवास शून्य

यत्तिकै सफल कहाँ भइन्छ र यहाँ
निरस जिन्दगीलाई लल्कार चाहिन्छ

दुई थोपा झुटा आँसुले पुग्दैन अब
रंगमञ्च जित्नलाई कलाकार चाहिन्छ

यत्तिकै मैले किन लेख्छु र यहाँ
लेख्न पनि त मलाई आधार चाहिन्छ

खुम्चिएको मनलाई उदार चाहिन्छ
बिग्रिएको तनलाई सुधार चाहिन्छ


जो टाढा भएको एहसास हुन्छ
त्यो नै वास्तवमा खास हुन्छ

“फर्किन्छ कि परदेश गएको छोरो ”
आमाको अन्तिम शास सम्म आश हुन्छ

बरु रातो सुटकेस लिई आऊ है छोरा
रातो बाकसमा फर्किने त लास हुन्छ

बुझ्ने चिन्नेलाई पो हो त जडिबुटी
नचिन्नेलाई त्यहि कुरा, घाँस हुन्छ

तारा हुँदैमा घमण्ड गर्नुपर्दैन साथी
तिमी भन्दा धेरै ठुलो आकास हुन्छ

मन्दिरमा ईश्वर नखोज साथी
आफ्नै मनमा उसको बास हुन्छ

देख्दा देख्दै उसले लतारेर गयो
परिस्थितिलाई धिक्कारेर गयो

कसैले गलामा छुरा राखेपछि
नगरेको अपराध स्वीकारेर गयो

‘जिन्दगी’ दौडको चुनौतीमा
प्रतिस्पर्धीलाई पछारेर गयो

घमण्डको बादल बर्सदै थियो
उसले आकाश उघारेर गयो

अन्तिम भेटघाट थियो सायद
भिजेका आँखाले निहारेर गयो

अस्तित्वको प्रमाण मागेपछि
आफ्नै जिन्दगीसँग हारेर गयो


समय दिन्छ कसैले भने, आभार हुनुपर्छ
सफल हुन जिन्दगीमा, लल्कार हुनुपर्छ

यो मन भित्रको वनको शून्यतालाई चिर्न
उनकै पाउजुको मिठो झंकार हुनुपर्छ

सबैले भनेको मान्दैमा कहाँ चल्छ र यहाँ
केही कुरामा त हल्का, इन्कार हुनुपर्छ

चियाको सर्कोसँगै बर्बराउने बानी छ उसको
पक्कै पनि ऊ फुर्सदिलो, गजलकार हुनुपर्छ

राख्नलाई त मनको कोठा नै खाली छ यहाँ
बस्नलाई मनमा उसको, स्वीकार हुनुपर्छ

बीच बाटोमै छोडी कहाँ कहाँ गयो रे ऊ
यसरी हिँडी जाने पक्कै, मक्कार हुनुपर्छ

तिम्रो नाङ्गो पेटको भोक देख्दैन उसले
देखे पनि मौन रहने ऊ, सरकार हुनुपर्छ


आदत गलत भए, छोड्नुपर्छ
दिशा गलत भए, मोड्नुपर्छ

मरुभुमीमा पनि फुल्छ फूल
मल जल गरी गोड्नुपर्छ

सबै साथीभाइ सही हुदैनन्
संगत गलत भए, तोड्नुपर्छ

राम्रा सम्बन्धको शत्रु हो अहंकार
सम्बन्ध टुटेको भए, जोड्नुपर्छ

आदत गलत भए, छोड्नुपर्छ
दिशा गलत भए, मोड्नुपर्छ