


बृहस्पति लम्साल
चाहेको पल्टिदैन, नचाहेको आइरहन्छ, लुँडो भाछ जिन्दगी
पाइलैपिच्छे ठोकिंदा-बज्जारिँदा, डुँडो भाछ जिन्दगी ।
काट्छन, चोइटाउँछन्, पोल्छन् सबै, आ-आफ्नो जरुरतअनुसार;
चुपचाप सहनु परेको छ, निशब्द बनेर मूँडो भाछ जिन्दगी ।
चेउरे मायाको पर्दाफास भो, जब पैसोले पेल्न छोडियो;
मौन बस्नु परेको छ, न निल्नु न ओकल्नु, कूँडो भाछ जिन्दगी ।
चड्नेहरु माथि-माथि चढे, मेरै शीरलाई भर्याङ्ग बनाई,
बाथले गलित, हरदम दुख्ने, घुँडो भाछ जिन्दगी ।
चाहेको पल्टिदैन, नचाहेको आइरहन्छ, लुँडो भाछ जिन्दगी
पाइलैपिच्छे ठोकिदा-बज्जारिँदा, डुँडो भाछ जिन्दगी ।



