खोलानाला कति बेच्छौ, सक्छौ समुद्रै बेचेर आऊ
सिंहदरबार मात्रै किन कहिले ह्वाइटहाउस टेकेर आऊ ।

कालापानी सुस्ता छोडिदिन्छौ, ए ! प्रभुका पुजारीहरु
स्वाधीनता को हो पुर्नेमा हिड्ने जुनकीरीलाई सोधेर आऊ ।

वाद, संविधान, कानुन, ऐन, नियम कति सुनाउँछौ
एकदिन त निर्धन बबुराको आगनसम्म टेकेर आऊ ।

शरीरमा गोली, मष्तिष्कमा देश नबोलेको कहाँ हो र
छर्रा बोकेको ज्यान जिउदै छ कि मर्‍यो हेरेर आऊ ।

माटो, जनता, समृद्धि, स्वाभिमान सस्तो कहाँ हो र
सस्तो बनाउने तिमिलाई किन्ने बजार खोजेर आऊ ।

महाकाली नगरपालिका- २, दार्चुला