रविन थपलिया (क्यानडा)

 

ओठ टोकी लजाएर, मुस्काउनाले सधैं प्यारी
सताएर, थकाएर, सुस्काउनाले सधैं प्यारी ।

उकाली कति ओराली कति, गाउँबेसी सँगसँगै
रिसाएर, रिझाएर, मुस्काउनाले सधैं प्यारी।

सुखको सुर्की दुखको प्याला, रित्याइयो कति कति
मताएर, मात्तिएर, चुस्काउनाले सधैं प्यारी ।

मनको गाँठा तनका गाँठा, कति खुस्के कति कँस्से
लठ्ठिएर, लाट्टिएर, खुस्काउनाले सधैं प्यारी।

आँधीहुरी धेरै आए, हिउँका पहिरो कतिकति
पग्लिएर, पगालेर, उस्काउनाले सधैं प्यारी।