टेकनारायण रिमाल“कौशिक” (बर्मा)

हजारौँ गाउँला भन्थेँ गजल उनको मुहब्बतमा,
जरूर नै होउँला भन्थेँ सफल उनको मुहब्बतमा ।

नजाने कालको चर्खा कहाँदेखि कहाँसम्मन्,
रहूँला हरघडी भन्थेँ अटल उनको मुहब्बतमा ।

गहिरो चाहको रङले रङ्गाई तन-वदन लतपत,
हिउँझैँ होउँला भन्थेँ विमल उनको मुहब्बतमा ।

खराबी लाख देखाई जमानाले बकोस् साक्षी,
म साबित होउँला भन्थेँ असल उनको मुहब्बतमा ।

भरोसाको सरोवरमा बनेर प्रेमको हिलो,
फुलाइदिउँला भन्थेँ कमल उनको मुहब्बतमा ।।