असल चरित्र
१.
कोही फूलहरूकै तरबार बनाउँछन्
कोही फुलहरूलाई उपहार बनाउँछन्
कोही यस्ता छन् बगैंचाका मालीहरू
जो कोपिलाहरूकै हतियार बनाउँछन्
विदेशतिर नेपालीले नै विमान बनाउँदा
नेपालले नेपालीलाई बेरोजगार बनाउँछन्
भोको पेट भुल्याउन बाध्यतामा सर्वस्व
शरीर बेच्दै शरीरलाई व्यापार बनाउँछन्
हाम्रो छाती टेक्दै टेक्दै भण्डार पुग्नेहरू
आफ्नो मात्रै भरी भरी भण्डार बनाउँछन्
२.
आजकाल कामरेडहरूको हामीसँग संगत हुँदैन
पसिनाबाहेक हामीसँग धन हुँदैन, दौलत हुँदैन।।
स्वतन्त्रता,गणतन्त्र आएर पनि खै त हामीलाई
अझैसम्म पनि सिंहदरबार छिर्ने इजाजत हुँदैन।।
भोको पेट भुल्याउन माटो कोतर्छौँ सालन्य हामी
प्यास लाग्छ पसिना नै पिउँछौ तयारी सर्वत हुँदैन।।
हाम्रो पनि त प्यास एउटै होला भोक एउटै होला
कसैलाई घरमै मार्सी बियर आउँछ अवगत हुँदैन।।
हरेक साल हामीलाई असार आउँछ,साउन आउँछ
बारी खनिन्छ,कोदो रोपिन्छ माड खाने फुर्सद हुँदैन।।
३.
गरेरै खाको देख्छु पक्का ऊ चोर हैन
यसकै आधारमा त ऊ कमजोर हैन।।
कैल्यकाहीँ पीडाहरूले कलेजो खान्छ
ऊ पनि त मान्छे नै हो कुनै ईश्वर हैन।।
धरातल र हैसियतको तराजुमा राख्दा
ऊ गरिब र दरिद्र हो अवश्य कठोर हैन।।
पधेँरोमा छुट्टै भर्न राखिएको घैँटो जस्तै
अपहेलित भएको छ ऊ तर फोहोर हैन।।
आफू अडेको भूगोलले बन्दी बनाएको छ
उसको पनि त घर छ कुनै वस्तुको खोर हैन।।
४.
जोवन त्यसै ढलेर सकियो
रहर मनमा फलेर सकियो
एक भारी दाउरा जसरी
आगोसङ्गै बलेर सकियो
मै हुँ भन्ने कडा इस्पात पनि
गोलको रापले गलेर सकियो
धर्तीमा धुलोको अहंकार
एकैछिन हावा चलेर सकियो
मुर्दा पोलेका मुढाहरू जस्तै
मेरो पनि जीवन जलेर सकियो
साँझा बस्ती, खोटाङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।