गजल सुनेका छौँ हामीले र गुन्गुनाएका पनि छौं । निकै मीठो सुनिन्छ गजल । सुमधुर अनि कर्णप्रिय । अरबी, फारसी, उर्दू र हिन्दी हुँदै नेपाली भाषाको पनि सुरिलो स्वर बनेको छ आज गजल । अनायास एउटा कौतूहल जाग्दछ मनमा । गजलको गुञ्जन कहाँबाट कहिलेदेखि भयो होला ?
हुन त गजल शब्द मूलतः अरबी भाषाकै भए तापनि फारसी भाषाका कवि रुदकीले ईश्वीय नवौं शताब्दीमा पहिलो गजल रचेका थिए भनिन्छ । त्यसपछि सादी र हाफिजको नाम आउँछ । हिन्दीमा गजलसाहित्य भित्र्याएछन्, ईशवीय तेह्रौं शताब्दीका सुविख्यात कवि अमीर खुसरोले । फारसी र हिन्दीका आधिकारिक विद्वान् कवि थिए उनी । पहिलो गजल उनले दुवै भाषाका एक एक मिसरा मिलाएर यसरी रचेछन्ः
शबाने हिजराँ दराज चूँ जुल्फ बरोजे बसलत जउम्र कोताह
सखी पिया को जो मैँ न देखूँ, तो कैसे काटूँ अँधेरी रतियाँ ।
हे सखी ! यो विरहाकुल रात घटाच्छन्न रजनीका लामा लामा केशलहरीझैँ कालो कहालीलाग्दो एवम् समग्र जीवनपर्यन्त फैलिएको छ । हे सखी ! यदि मैले आफ्ना प्रियतमको एक झलक दर्शनसम्म पाइनँ भने कसरी यी अँधेरी रातहरू काटूँली ?
यसरी भौतिक र आध्यात्मिक दुवै थरी प्रेमको गहिरो विम्ब उत्रिएको पाउँछौं अमीर खुसरोको विरहदग्ध भावनाको यो भव्य अभिव्यक्तिमा ।
ईशवीय चौधौं शताब्दीका सन्त कबीरदासकृत आध्यात्मिक भावसम्पन्न यी शेरहरु हिन्दीका प्रारम्भिक गजालांश मानिन्छन्ः
हमन हैं इश्क मस्ताना हमन को बेकरारी क्या
हमारा यार है हम में हमन को इन्तजारी क्या,
कबीरा इश्कका माता, दुई को दूर कर दिल से
जो चलना राह नाजुक हो, हमन सर बोझ भारी क्या !
हामी प्रेममा लवलीन छौं, अब हामीलाई केको छटपटी ? हाम्रो प्रेमास्पद हामीभित्रै छ, अब हामीलाई कसको प्रतीक्षा रह्यो र ? प्रेममग्न कबीर भन्दछः हे प्रेमशिखरका यात्रीहरु ! दुईलाई दिलबाट दूर गर, यदि मुश्किल मार्गबाट जानु छ भने हामीले शिरमाथि भारी किन बोक्ने ?
द्वन्द्वबाट द्वन्द्वातीततिर, द्वैतबाट अद्वैततिर यात्रा गर्ने गहन संकेत यो प्रेमालापजस्तो बुझिने यो गजलांशले प्रस्तुत गरिएको हामी पाउँछौं । सजिलैसँंग सूक्ष्म चिन्तन र गहन जीवनदर्शन प्रवाहित गर्न सक्ने गम्भीर सामथ्र्य यी शेरहरुमा झल्किरहेको हामी पाउँछौं ।
गजलको उत्कर्षः उर्दूमा
ईशवीय १६औं शताब्दीमा भारतको गोलकुण्डाका बादशाह कुली कुतूब शाह उर्दू भाषाका प्रथम शायर भए । त्यसपछि शायरीका देउता खुदा–ए–सुखन मानिने मीर तकी मीर, मोमिन, दाग, जौक र महाकवि गालिब अनि बहादुरशाह जफर उर्दूका नामूद शायर भए, जसले गजलमा गम्भीरता भरे, जीवन्तताको जादू जगाए अनि लयात्मकताको लालित्य ल्याए ।
यिनमा पनि महाकवि गालिबका गजलमा भावको सूक्ष्मता, कल्पनाको उच्च उडान एवम् अभिव्यक्तिमा सरलता पनि एकसाथ पाइन्छ । गालिब उपनामले मशहूर ती शायरको पूरा नाम थियो असदुल्लाह खाँ गालिब । यिनले जीवनमा धेरै कष्ट सहनुप-यो, त्यसैले उनका रचनामा पीडाकै प्रधानता पाइन्छ । जीवन र जगत्को कारुणिक पक्षलाई उनले गजलमा अत्यन्त मर्मस्पर्शी पाराले प्रस्तुत गरेका छन् । प्रेमको अथाह पीडालाई उनले यसरी मुखरित गरेको पाइन्छः
ये न थी हमारी किस्मत कि विसाले यार होता
अगर और जीते रहते, यही इन्तजार होता
तेरे वादे पर जिये ह मतो यह जान झूठ जाना
कि खुशी से मर न जाते, अगर एतबार होता ।
आफ्नो मायालुसँग मिलन हुनु मेरो किस्मतमै थिएन, म अझै अरु बाँचेकै भ ए पनि मेरो जीवनमा फगत् यही प्रतीक्षामात्र थियो ।
तिम्रो कसमकै भरमा बाँच्दा त मैले आफ्नो ज्यानलाई झूठो मानें भने यदि त्यसमा साँच्चिकै विश्वास भएको भए त खुशीले नै म भुतुक्कै मर्दिनथेँ होला र ?
गहिरो दार्शनिकताको गौरव पनि गालिबका गजलमा देख्न पाइन्छः
न था कुछ तो खुदा था, कुछ न होता तो खुदा होता
डुबोया मुझको होने ने, न होता मैं तो क्या होता !
हुई मुद्दत कि गालिब मर गया, पर याद आता है –
वो हर इक बात पर कहना कि यूँ होता तो क्या होता !
जब यस जगत्मा केही थिएन त्यसबेला पनि परमेश्वर, परमचैतन्य अवश्य थियो । यो सृष्टि नरचिएकै भए पनि त्यो परमअस्तित्व रहने नै थियो । बरु, मलाई पो मेरो हुनु अर्थात् अस्तित्वले पीडा दिइरहेको छ, डुबाइरहेको छ । म नभएकै भए पनि के भइहाल्थ्यो र ?
धेरै समय बितिसक्यो गालिब यस संसारबाट बिदा भएको । तैपनि हरेक बातैपिछे यसो नभएको भए कसो हुन्थ्यो ? भन्ने उसको कथनपद्धतिचाहिं अझै पनि याद आइरहन्छ ।
यसरी एकातिर उपनिषदीय गहन दर्शन र अर्कातिर अस्तित्ववादी जीवन प्रश्न अनि त्यसमाथि आफैंप्रति व्यंग्योक्तिपूर्ण वक्तव्य, यी सबै कुरा उनले दुइटै शेरमा पनि कुशलताका साथ भन्न भ्याएका छन् ।
बहादुर शाह जफर हिन्दुस्तानका अन्तिम मुगल बादशाह भए । उनी मायालु मनका मालिक थिए । अंग्रेजहरुले उनीमाथि गर्नु नगर्नु अत्याचार गरे, राजगद्दीबाट खसालेर बर्माको रंगून पु-याए अनि जेलमा जाके । ती कमलो मन भएका भावुक कवि त्यहाँ धुरुधुरु रोए । कल्पनीय अमानवीय आतङ्क उनले झेल्नुप-यो । गहिरो मानवीय संवेदनाले भरिएका दार्शनिक रङमा घोलिएका जफरका कारुणिक शेरहरू, गुनगुनाउनेहरूका मुटुमा अझैसम्म गाडिएकै छन्ः
लगता नहीं है दिल मेरा उजडे दयार में
किसकी बनी है आलम–ए–नापायेदार में,
उम्र–ए–दराज माँगकर लाये थे चार दिन
दो आरजू में कट गये, दो इन्तजार में,
इतना है बदनसीब जफर, दफ्न के लिये
दो गज जमीन न मिली कू–ए–यार में ।
यो उजाड दुनियाँमा अब मेरो मन कतै रमाउँदैन । यो क्षणभंगुर जगत्मा कसको पो जिन्दगीमा चाहेको कुरा पुगेको छ र ?
आफ्नो समग्र जीवनको विस्तार जम्माजम्मी चार दिन बक्साएर ल्यायेको थिएँ, तिनमा पनि दुई दिन आकांक्षामै बिते अनि बाँकी दुई दिन प्रतीक्षामा ।
बिचरो जफर त कतिसम्म अभागी रहेछ भने आफ्नै लाश गाड्न मायालुको गल्लीमा दुई गज जमीनसम्म पनि उसको भागमा जुरेको रहेनछ ।
नभन्दै, आफ्नो प्यारो मातृभूमिलाई आफ्नी मायालुको गल्ली मान्ने नाजुक दिलका भावुक शायर जफरले रंगूनको जेलमै इहलीला समाप्त गरे र उनको पार्थिव देह त्यहीँ समाधिस्थ भयो ।
हिन्दी गजल
हिन्दी गजलकारहरुमा प्रथमतः दुष्यन्तकुमारको नाम औधी मन पराइन्छ । उनका रचनामा हामी सांसारिक पीडाको सञ्चार पाउँछौं र सामाजिक राजनीतिक अव्यवस्थाप्रति गुनासो पनि, मानवीय मनोविज्ञानको सूक्ष्म आकलन पनिः
कहाँ तो तय था चिरागाँ हरेक घर के लिये
कहाँ चिराग मयस्सर नहीं शहर के लिये,
यहाँ दरख्तों के साये में धूप पलते हैं
चलो यहाँ से चलेँ आओ उम्रभर के लिये,
खुदा नहीं न सही , आदमी का ख्वाब सही
कोई हसीन नजारा तो है नजर के लिये ।
कहाँ हरेक घरका लागि उज्यालोको व्यवस्था मिलाउने कुरा तय भएको थियो, अब यहाँचाहिँ हालत कतिसम्म गए गुज्रेको छ भने सिंगै शहरमा कतै एक झुल्कोसम्म उज्यालो पनि जुर्न सकेको छैन ।
यहाँ त रुखकै छायामा पनि पोल्ने घामहरु पलिँदा रहेछन्, हिँड अब यहाँबाट जाऔं सधैंभरिका लागि ।
ईश्वर छैन भने पनि नहुँदै गरोस्, त्यो मानिसले देखेको फगत् एउटा मीठो सपना नै साबित होस्, तर त्यसले के फरक पारिहाल्छ र ? कुनै रमणीय दृश्य त कम से कम उपलब्ध छ आँखाकै आनन्दका लागि भए पनि ।
यसरी हिन्दी गजलमा युगीन पीडा र मानवीय अत्यासमाथि सम्बोधन गरिएको पाइन्छ भने मानवले मानवकै उपर खेलेको छल कपटको क्रूर क्रीडा र अमानवीयताको किस्सा कोरिएको छ अनि मानवस्वभावको गम्भीर रहस्योद्घाटन पनि गरिएको छ ।
पछिल्लो समयमा कैफी आजमी, गुलजार, निदा फाजली, वशीम बरेलवी, बशीर बद्रजस्ता शायरहरुले हिन्दी जगत्मा व्यापक लोकप्रियता आर्जन गरेका पाइन्छ । आजभोलि विद्युतीय सञ्चारमाध्यमबाट तिनको प्रत्यक्ष प्रस्तुति पनि हेर्न सुन्न सकिन्छ ।
नेपाली भाषामा गजल
नेपाली भाषामा गजलसँग चिनापर्ची गराउने नेपाली सपूत हाम्रा प्यारा युवा कवि मोतीराम भट्ट (वि सं १९२३–१९५३) हुन् । तीसै वर्षको युवावस्थामा नेपाल आमाको काखलाई, यस धरतीलाई चटक्क छोडेर बिदा भएका मोतीलाई बहुआयामिक प्रतिभाका धनीका रुपमा हामी चिन्दछौं । किशोरावस्थामा नै भारतस्थित विद्याको शहर बनारस गएका बेला प्रख्यात साहित्यसेवी भारतेन्दु हरिश्चन्द्रका सत्प्रेरणाले उनी गजलसाहित्यतिर लहसिएछन्, अनि भक्तिभभावले भरिएको गजलरचनाको पहिलो नमूना उर्दूमा प्रचलित लोकप्रिय छन्द बह्र ए हजज मा यसरी गुनगुनाएछन्ः
यता हेरुँ यतै मेरा नजरमा राम प्यारा छन्
उता हेरुँ उतै मेरा नजरमा राम प्यारा छन् ।
अनि युवावस्थाका कोमल लयालु भावनालाई उनले यसरी पोखेछन् कुनै सुन्दरीलाई लक्ष्य गरेरः
दुई आँखीभौं त कटार छन्, तरबार पो किन चाहियो ?
तिमी आफू मालिक भैगयौ, सरकार पो किन चाहियो ?
फेरि भनेछन्ः
यी सानै उमेर्देखि मन् हर्न लागे
यिनै सुन्दरीले जुलुम् गर्न लागे,
अघी पर्न सक्तैन है मो हरीका
नजर्देखी मोती पनी झर्न लागे ।
यसरी आइपुग्यो गजल नेपाली भाषामा, लगभग सवासय वर्ष पहिले । तर फेरि बीचमा यो त्यसै कता कता अल्पिएछ अन्तः सलिला सरस्वती नदी अल्पिएझैँ । वि सं २०३६ तिर एक जना हँसिला र रसिला युवा कवि ज्ञानुवाकर पौडेलले गजलको पुनरावाहन गरेछन् । हामी थाहा पाउँछन् उनी अझै पनि नूतन गजल गुनगुनाइरहेका भेटिन्छन् महफिलहरुमा । उनीपछि मनु ब्राजाकी, ललिजन रावल, बूँद राना र रवि प्राञ्जलहरुले गजलको लालित्य उतार्दै गए, गजल आराधनामा शब्दसुमन चढाउँदै गए । गजलउपासनाको क्रम अगि बढ्दै गयो । नारी स्वर पनि गजल प्रार्थनामा गुँज्न थाले । श्रेष्ठ प्रिया पत्थर, सबिना मिश्र, शीतल कादम्बिनीहरुका शीतल लयमा पनि लोलाउन लाग्यो गजल ।
आज गजल नेपाली साहित्यानुरागी सबैलाई मन पर्ने विधा बन्दै गएको छ । नयाँ नयाँ प्रतिभाशाली युवाहरुलाई त गजलले मोहनी लगाएकै छ, पुराना, पाकेका, अन्य विधामा स्थापित यशस्वी सर्जकहरु पनि यसको चुम्बकीय आकर्षणमा थाहै नपाई मुग्ध भएर गजल रचना र संरचनातिर उत्सुक बनेका छन् । नेपाली वाणीमा गजलको वर्चस्व निरन्तर बढ्दो छ ।
यसरी अरबी, फारसी, उर्दू, हिन्दी भाषाको जमीनलाई आप्लावित गराएर गजल जलधारा आजभोलि नेपाली वाङ्मयलाई रसिलो बनाउन भावप्रवाहका साथ बहिरहेको छ र हामी गजलको लयमा लय मिलाएर जीवनको सुमधुर गानमा स्वर भरिरहेका छौँ ।
…..
अब अनायास मनमा जिज्ञासा जाग्दछः कसरी बन्छ होला गजल ?
प्रिय भावकवृन्द, त्यो प्रसङ्ग अर्को आइतबार !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।