कृष्ण तामाङ्ग

विविध संस्कृतिको गाँउशहर बस्ती बिर्सन सकिन्न
झन् हिमाल पहाड तराईको दोस्ती बिर्सन सकिन्न

देशलाई फन्को मारी सेतो टोपीमा सजिएर
सुरक्षा गर्ने हिम शृङ्खलाको गस्ती बिर्सन सकिन्न

कलकल गरी मूल फुटेर पलाएको जरुवा पानी
पिई भोक तिर्खा मेटी गरेको मस्ती बिर्सन सकिन्न

आफ्नै मात्र मूल्य टाँसेर गुन गाउनेको भिडमा
देशको बलिदान दिने अमर हस्ती बिर्सन सकिन्न

देशको माटाले जन्माएको बहादुरका सामु आज
आफैँमाथिको अत्याचार ज्यादती बिर्सन सकिन्न

भोजपुर