जीवन जोशी

के खायौ? मेरो छोरो, आमा सोधिरहनुहुन्छ,
अनुहार बनाउँदै निदाउरो, आमा सोधिरहनुहुन्छ l

सधैँ सपनी देख्छु तिमी घर आउँदै गरेको,
तर जहिले देख्छु अधुरो, आमा सोधिरहनुहुन्छ l

तिमीले पठाएको मोबाइल पनि बिग्रिन लागिसक्यो,
आवाज आउँछ सदैव मधुरो, आमा सोधिरहनुहुन्छ l

जिम्दार सापको ट्रयाक्टर पनि यही बाटो आयो,
तिमीलाई भयो किन साँघुरो, आमा सोधिरहनुहुन्छ l

तिमी घरबाट सयौँ कोस टाढा र सधै एक्लै,
बुहारी भित्र्याउने के भयो कुरो, आमा सोधिरहनुहुन्छ l

महेन्द्रनगर, कञ्चनपुर