रस्मिला कवाङ “रश्मि”

मेहदीको रँगसँगै लेख्ने त आफ्नो नाम नै हो
जीवनको सौन्दर्य सुव छासर्ने त काम नै हो ।

हरिया चुराहरू,चुरिदार हरिया, हरियै मौसम
उडेर या गुडेर पुग्ने त उही सुन्दर गाम नै हो ।

झरी वर्षा रुझेरै त टुसाए आशा उमङ्गहरू
हरियाली सुसाउने त साउनको याम नै हो ।

गङ्गाको पानीजस्तै निर्मल होस् मनका रङ्गहरू
इन्द्रेनीको रङ्गभित्र टल्किने पनि त राम नै हो ।

गाढा होस् जस्तो लाग्छ रङ्गछाया  हत्केलाभरि
“रश्मि” लाई झल्काउने त आखिर घाम नै हो।