वसन्ती पौडेल(मणिपुर)

सम्झेका बिर्सेका तस्बिर बेहिसाब छन् प्रिय
समय बाछिटाले भिजेका किताब छन् प्रिय ।

मुखले भन्दा अक्षरहरू धेरै बोल्छन् मेरा
समाउन नसकिने मेरा उडन्ते खाब छन् प्रिय ।

अदृश्य हुँदैन मान्छे सत्यसँग आँखा लुकाएर
सत्यका बाटामा बलिया हाम्रा भाव छन् प्रिय ।

प्रश्नहरू उठछन् उत्तर सबै कहाँ सम्भव छ र
तिमीलाई के छ, मलाई धेरै दबाब छन् प्रिय ।

समयले मेटाएका डोबहरू धेरै छ सम्झनामा
फितला छन् कत्ति तस्बिर कत्ति लाजवाब छन् प्रिय ।