दधि अधिकारी

सिरेटो पो चल्यो आज कतै पानी पऱ्यो होला
उज्यालो पो भयो रात बादल सबै फाट्यो होला ।

लत्याएर गए पनि हाँस्यौ भेट्दा आज मलाई
आँखामाथि आँखा पर्दा फेरि माया जाग्यो होला ।

गाह्रो हुन्छ मेटाउन एकपटक लेखेपछि
हत्केलामा मेरै नाम धेरैपटक लेख्यौ होला ।

चमत्कारै हुन्छ भन्छन माया चोखो भयो भने
अँजुलीमा पानी थाप्दा मुहार मेरो देख्यौ होला ।

निम्ता दियौ धेरैलाई तिम्रो मनको बाटो हिँड्न
बटुवाले कुल्ची हिँड्दा तिम्रो मन दुख्यो होला ।

जति कठोर होस् न मन पग्लिन्छ यो मायाँमा
मलाई सम्झी आँसु झर्दा पछ्यौरीले पुछ्यौ होला ।।