सुरज खनाल (असम)

 

गजल १

अल्छेलाई गुनासो रहन्छ परिवारसँग घरसँग,

पलपल दुख पीडा र यातना मिल्ने सफरसँग ।

 

अनाथ बच्चा अथाह ज्ञान बटुल्न खोज्दैथ्यो,

बाध्यताले सम्बन्ध बनाइदियो कसिङ्गरसँग ।

 

निर्धक्क भएर यो मनको व्यथा पोख्न मिल्ने,

आखिर मान्छेमा नभएको गुन छ पत्थरसँग ।

 

जिन्दगीमा काम नलाग्ने केही छैन भन्ने बुझेँ,

जब फसल जोगाउने शक्ति भेटाएँ जहरसँग ।

 

यश आरामभन्दा ठूलो विकल्प नि रैछ यार !

आफ्नै श्रीमती भाग्दा थाहा भयो नोकरसँग ।

 

प्रस्ताव राखेर मुखमा हेर्ने प्रेमीलाई के थाहा ?

सत्य छोप्न नसक्ने कमजोरी हुन्छ नजरसँग ।

 

दुई किनार नछोडी हिँडिरहे मिलन सम्भव छ,

बुझियो जब नदीको संयोग भयो सागरसँग ।

 

गजल २

घरमा एक्लै हुँदा मैले जानीजानी दिनु पर्‍यो,

सर्दी लागेको बुबालाई चिसोपानी दिनु पर्‍यो ।

 

निकै सङ्घर्ष गर्दा पनि कुनै उपाय नलागेपछि,

साउको ऋण तिर्न आफ्नै जवानी दिनु पर्‍यो ।

 

आफूले काम गर्ने केही तरिका नजान्ने हुँदा,

जमिन भए पनि खेती गर्न लगानी दिनु पर्‍यो ।

 

उसले जुन घर बनाउँदा पैसा लिएको थियो,

आज त्यही घरमा बस्न~भुक्तानी दिनु पर्‍यो ।

 

तिम्रै हुँ भनेर मलाई विश्वास दिलाउने अघि

लौन तिमीले~ औँठीको निशानी दिनु पर्‍यो ।