साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

रामप्रसाद दाहालका गजल

रामप्रसाद दाहाल (असम)

 

गजल १

हाम्रा नराम्रा रिवाजहरू फाल्ने चलन होस्,

स्त्री-पुरुष सबैले मुर्दा उचाल्ने चलन होस् ।

 

आँखा भएर पनि कहिलेसम्म अन्धो हुने ?

छोरीलाई पनि अंश दिन थाल्ने चलन होस् ।

 

सन्तान निस्वार्थ हो भन्ने उदाहरणको लागि,

जीउनी नलिइ आमाबाबु पाल्ने चलन होस् ।

 

छोराछोरी बराबरीको नारा चल्छ सडकमा,

लौ न छोराले नि भाँडा पखाल्ने चलन होस् ।

 

छोरालाई काखमा छोरीलाई पाखामा हैन,

दुवैलाई आखाँको मणिमा हाल्ने चलन होस् ।

 

श्रीमती मर्दा श्रीमानले झट्टै बिहे गरे जस्तै,

विधवाले पनि पुनः घर बसाल्ने चलन होस् ।

 

गजल २

आजभोलि कुन्नि केके चल्छ पर्दा पछाडि,

गरिबको भाग्य नेताले छल्छ पर्दा पछाडि ।

 

सिमानामा गोलि खाइ देश बचाउँछ योद्धा,

उसको प्राप्य आश्वासले टल्छ पर्दा पछाडि ।

 

भ्रष्टाचारको गोलामा मुछिएको छ मेरो देश,

भित्रभित्रै सत्य र सद्भाव ढल्छ पर्दा पछाडि ।

 

हुन त खेला हो यो,खेलकै नजरले हेर्नुपर्ला,

खेलाडीसँग खेलाडी नै गल्छ पर्दा पछाडि।

 

मान्छे पनि सोचि नसक्नु खतरा हुन्छ यार,

फकाउँछ अनि गोजी खोतल्छ पर्दा पछाडि।

 

विपक्षमा हुँदा नारी सुरक्षाको नारा लाउनेले,

सत्ता भेट्दा जम्मै कुरै बदल्छ पर्दा पछाडि।

प्रतिक्रिया
Loading...