गजल १
ख्याल आउँछ योबेलामा अनेकौँ सम्झना आउँछ,
काम बिग्रिएपछि मात्रै मान्छेलाई चेतना आउँछ ।
बिहान देखेको सपना साँचो हुन्छ भन्नुहुन्छ तपाईँ,
मलाई मरेका मेरा बा फर्किएको सपना आउँछ ।
मैले तिम्रो माग पूरा गर्नैपर्छ दिदी तिमीले माग राख्यौ,
मेरो मर्गौला बेच्दा तिमीलाई चाहिएजति गहना आउँछ ।
तपाईँको नजरमा मन्दिरभित्र भगवान् पाइएला !
मलाई आमाको चिहानमा भगवानको भावना आउँछ ।
प्रिय. ! तिमी महलमा बस्ने अनि म झुपडीमा बस्ने,
सम्झ सुनसँग पित्तलको कसरी पो तुलना आउँछ ?
गजल २
जिन्दगी कहिले पानी बन्छ कहिले चट्टान बन्छ,
सोच्नुहोस् ! प्रत्येक रातपछि पुनः बिहान बन्छ ।
आमा…! हामी किन सधैँ अभावमा बाँच्नुपरेको ?
छोरा ! झुपडीमा आएको खुसी पनि तुफान बन्छ ।
यो जाल र झेलले भरिएको संसार रहेछ महाशय !
यहाँ ढाँट्नेहरूको मात्रै मान बन्छ पहिचान बन्छ ।
गरिबहरू पैदल यात्रामै अस्पतालसम्म पुग्नुपर्ने !
धनी बोक्नलाई अनेकौँ साधन बन्छ यान बन्छ ।
हावाले बत्तीलाई किन चाँडै निभाउँछ महोदय ?
बाबु ! हावाले आगो खान्छ र त ऊ जवान बन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।