प्रदीप शर्मा (असम)

 

गजल १

थाहा भयो मेरो मोल, नेता धाएर आएपछि,

वादा धेरै देखाउँदै कसम खाएर आएपछि ।

 

मैले जान्नै सकिनँ असली आनीबानी उनको,

सजिलै पग्लियो अन्तर लोभ्याएर आएपछि ।

 

प्रकट गरेनौ अभिलाषा झूटो अभिनयको,

सरल देखेँ भित्री मान्छे लुकाएर आएपछि ।

 

बिर्सिएँ सबै प्रवन्चना र आश्वासन अघिको,

रुपियाँको जोडले जोस जगाएर आएपछि ।

 

भोटको खाँचो हुँदा माया प्रीति गाँसेको देखेर,

विस्वास गरेको हुँ मनमुटु हँसाएर आएपछि ।

 

गजल २

भगवान् खोज्दै मन्दिर धाउने धेरै छन्,

मनमा हिँसा लुकाई हाँस्दै आउने धेरै छन् ।

 

देखेर फूलबारीमा रङ्गीचङ्गी फूलहरू,

चुँडेर मनको तृप्ति मेटाउने धेरै छन् ।

 

जीवन वसन्तमा तल्लीन भएको देखेर,

झूटो प्रतिज्ञाले माया बसाउने धेरै छन् ।

 

धर्मको नाउँमा विभेद झगडा फैलाउँदै,

समाजमा आफू जगमगाउने धेरै छन् ।

 

मौका पाउँदा नारीको इज्जत लुट्नेहरू,

आमसभामा सज्जन देखाउने धेरै छन् ।