जमुना दाहाल (असम)

 

गजल १

माया जालमा फसाएर लुट्ने बानीलाई बुझाउ,

बुढेस्काल आउँछ भनी जवानीलाई बुझाउ ।

 

जीवनमा अनावश्यक पत्रहरू धेरै फेला पर्छन्,

सबैको किरदार जरुरी छैन, कहानीलाई बुझाउ ।

 

नदीहरू बग्ने भनेको त माथिबाट तल नै हो,

उल्टो चले बादल बन्नुपर्छ पानीलाई बुझाउ ।

 

केही समयपछि पेन दिइन्छ पेन्सिलको सट्टा,

परिपक्क बन्नुपर्छ अब त नादानीलाई बुझाउ ।

 

गजल २

 

नचिनाको मात्र हो दुनियाँलाई रङ रङदेखि चिन्छु म,

सधैँ तिमी प्रश्न गर्थ्यौ, सुन आज सबै उत्तर दिन्छु म ।

 

कुन रङ मनपर्छ ? भनी सोध्थ्यौ नि घरि घरि तिमी,

इन्द्रेणी नै मनपर्छ, तिमीले फेर्ने रङ देखी मात्र तर्सिन्छु म ।

 

कस्तो मल्टी ट्यालेन्टेड तिमी ? मान्छेको रूप छेपारोको वर्ग,

लुकार फ्यालेका तिम्रा कहानीका किस्साले लागेर चिरिन्छु म ।

 

भेट्न आउँदा अर्कैसँग बसी बनाएका धेरै बाहानापछि,

तिमीलाई नभेटेनी तिम्रो नियतलाई भेटेर फर्किन्छु म ।