कविता : म अलिक धेरै दिन बाँच्ने थिएँ

चेबन शर्मा (विश्वनाथ)

मेरो वाक्य बसेर

मृत्यु शैय्यामा लडेपछि

मेरो श्वास गएको हेर्न

आउने आफन्त

जिउँदो छँदा दुखका कुरा सुन्न आउँथे भने

मेरो स्वास्थ्यमा सुधार हुन्थ्यो ।

 

मेरो श्वास जानेबेलामा

राम राम भन्ने आफन्तहरू

म जिउँदो छँदा

मसँग एक वचन मिठो बोली दिएका भए

म मरेपछि रुने मान्छेहरू

जिउँदो छँदा मैले रोएको बुझिदिएका भए

म अलिक धेरै दिन बाँच्ने थिएँ ।

 

मेरो लासलाई

नुहाउँदा घसेका तिल र घिउ

मेरा मुखमा परेको भए,

लासको छेउमा धुना जलाएजस्तै

प्रेमको वासना पाउँथे भने

म अलिक धेरै दिन बाँच्ने थिएँ ।

 

ब्राह्मणको आदेशमा पिण्ड र तिलानी,

फोटामा माला र धुपकाटी

एकछाक खानु,

अलिनु खानु, गरुड पुराण र आरती

सेता लुगा र खालि पाउँ

आमाको निवेदनमा मेरो

उपचार गर्थे भने

बाबु मेरो हो भनी अघि सर्थे भने

म अलिक धेरै दिन बाँच्न थिएँ ।

 

दान गरेका चप्पल मैले लाउँथेँ भने,

ब्राह्मणलाई दिए जस्तो ओछ्यानमा

सुत्न पाउँथेँ भने,

अहिले गाई दान गरेर के गर्नु ?

एकमुठी दूध हालेको चिया पिउन पाउँथेँ भने

बाउ मरेको शोक साथीलाई देखाएसरी

मेरो बाउ भनी बोलाएको भए

म अलिक धेरै दिन बाँच्न थिएँ ।

 

किरिया गर्ने मेरो छोराहरू धेरै कष्ट गर्दैछन्

उनीहरूका आफन्त आउँदैछन्

मेरो बारे भन्दैछन्,

रुदैछन् जिउँदामा मेरो परिचय दिएका भए

नुनिला आँसुको नदी देखेका भए

मरेपछिको नाटक,

जिउँदामा गरेका भए

उनीहरू पनि बाउ हुन्

बूढा पनि हुन्छन्,

बाबुका मुस्कानभित्रको आँशु देखेका भए

म अलिक धेरै दिन बाँच्न थिएँ ।

 

नलगाऊ छोरा,

सेता लुगा

नओढ

अब सेतो छाता

धरती यो गोल छ

बाबु यमराज पल्टाउँदैछन् तिम्रो खाता

एकहोरो सुनी रहे

ती बाबुका कुरा

मुटु कुटुक्क गरो

थिएन जवाफ मसँग

के हजुरसँग छ ?