अर्जुन कार्कीका गजल
गजल १
नयाँ बिहानीसँगै खुल्नेछन् घरघरका कारागारहरू,
हट्नेछन् अवश्य कुनै दिन सबै असती बिमारहरू ।
रोजगारी पाउनेछन् फेरि पहिले झैँ युवाहरूले,
चल्नेछ उद्योगधन्दा खुल्नेछन् वाणिज्य व्यापारहरू ।
खुल्ला पंक्षी झैँ हुनेछन् मानिसहरू फेरि उसैगरी,
घुम्नेछन् देश विदेश हट्नेछ सबै छेकबारहरू ।
आशा छ, आउनेछन् फर्केर दिनहरू पहिलेको झैँ
मनाइने छ दशैँ र तिहार रङ्गिनेछन् निधारहरू ।
फर्की आउनेछन् उज्याला ती दिनहरू खुसीयालीका,
बज्नेछन सङ्गीतका रमाइला मीठा मीठा झन्काहरू ।
गजल २
माइती धर्म निभाउन नपाएको धेरै भयो,
तिजमा चेलीसँगै दर नखाएको धेरै भयो ।
दर खाई चेली माइती रमाउँदै एकैसाथ,
रमाइलो तिज गीत नगाएको धेरै भयो ।
पापी पेट पाल्नलाई सबैदेखि टाढा भयो,
बाध्यताले गर्दा घर नआएको धेरै भयो ।
बूढा भाका बाबा आमा भिजेको होला घरभित्रै,
चुह्यो होला छानो पनि नछाएको धेरै भयो ।
सम्झिएर यिनै कुरा मुटु पोल्छ घरि घरि
जागै बस्छु राती निद्रा नलाएको धेरै भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।