अनुप शर्मा (असम)

अनुप शर्मा (असम)

गजल १

मीठो तितो बीच बीचमा खानु पर्छ ख्वाइदिनु पर्छ,

अस्तित्वको खातिरमा विवादहरू पन्साइदिनु पर्छ ।

 

गल्लाको पसल खोलौँ भन्ने सोच लिएको,

ग्राहक भन्छ घरमै समान पुर्याइदिनु पर्छ ।

 

धेरै कष्ट सहेर छोरो ठूलो पार्छिन् आमाले,

बुहारी भित्रिएपछि आश्रम जाइदिनु पर्छ ।

 

सित्तैमा काम लगाउनेले यस्तो सोच्दा रहेछन,

उसैको काममा मेरो समय खटाइदिनु पर्छ ।

 

श्रीमान्को मन दुखाएर मुख फुलाउँछे श्रीमती,

श्रीमतीलाई केही नभनीकन फुस्लाइदिनु पर्छ ।

 

घर फेरिएपछि रहर फेरिन्छ, विचार बदलिन्छ,

पहिचान बिर्सनेहरूलाई अब ब्युँझाइदिनु पर्छ ।

 

उसले चाहन्छ उसैको जित हुनुपर्छ सधैँभरि,

जित्नेले पनि उसैको गुणगान गाइदिनु पर्छ ।

 

गजल २

मस्तिष्कभरि पिरलो धेरै परेको देखिन्छ,

सजिलै ज्ञान भुलेर मान्छे मरेको देखिन्छ ।

 

विचार गर्ने सामर्थ्य हुन्न यो रोग लाग्दामा,

विकल्प केही नभेटेपछि झरेको देखिन्छ ।

 

बितेका कुरा सोचेर होला तनाव बडेको,

विवेक-बुद्धि बिग्रिएपछि गरेको देखिन्छ ।

 

कोमल मन भएकालाई सजिलै समात्छ,

सङ्ग्रामी बाटो देखेर पर सरेको देखिन्छ ।

 

जन्मनु मर्नु सबैले पर्छ निश्चित बेलामा

बाच्नुको अर्थ नबुझी प्राण हरेको देखिन्छ ।

 

सङ्घर्ष गर्ने साहस सधैँ छातीमा बोकेर,

हिड्न सक्ने यो रोगबाट तरेको देखिन्छ ।